प्रहार समाचार । काठमाडौँ, ८ माघ २०८२ बुधबार । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको मनोनयन खारेज भएको छ ।

निर्वाचन अधिकृत देवराज भारतीले प्रचलित कानूनअनुसार उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै चौधरीको उम्मेदवारी खारेज गरिएको निर्णय सार्वजनिक गरेका हुन्। निर्वाचन अधिकृतको निर्णयमा सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको तथ्यलाई मुख्य आधार बनाइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएको व्यक्ति उम्मेदवार हुन अयोग्य ठहरिने भएकाले चौधरीको मनोनयन अस्वीकार गरिएको जनाइएको छ। साथै राजनीतिक दलको सदस्य हुनसमेत अयोग्य ठहर गर्दै निर्वाचन आयोगले यसअघि गरेको निर्णयलाई समेत आधार बनाइएको छ।
टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीले राष्ट्रपतिबाट आममाफी पाए पनि सजायको अवस्था यथावत् रहेको ठहर गरिएको छ। यसअघि २०७९ को आमनिर्वाचनमा बर्दिया–२ बाट उम्मेदवार बनेका चौधरी पुनः कानुनी अड्चनका कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु परेको छ।



























