हेडलाईनव्याससमाचारगण्डकी

भक्तजनको पर्खाइमा तनहुँको छाङ्ग वाराही मन्दिर

• ईश्वर बास्तोला । प्रहार समाचार । तनहुँ, ८ माघ २०८२ बिहीबार । भाकल पुरा हुने जनविश्वास, राष्ट्रपतिको आशीर्वाद यात्रा र धार्मिक आस्थाले परिचित छाङ्ग बाराही मन्दिर आज पनि पूर्वाधार र संरक्षणको पर्खाइमा छ। तनहुँको व्यास नगरपालिका–१० खहरेमा अवस्थित यो मन्दिर छाब्दी बाराही मन्दिरको बहिनीका रूपमा परिचित छ।

मन्दिरका पुजारी धनराज दरैका अनुसार तत्कालीन गुणादिका पञ्चायतकालमा पञ्च प्रधान पुरुषोत्तम काफ्ले र उपप्रधान नेत्रबहादुर दरैले मन्दिरको उन्नतिको भाकलसहित चुनाव जितेपछि कच्ची मन्दिर निर्माण सुरु भएको थियो। “चुनावमा जिताउने भाकल र मन्दिर स्तरोन्नतिको प्रतिबद्धतापछि काफ्ले विजयी भए,” पुजारी दरै सम्झिन्छन्।


छाङ्ग बाराही मन्दिरको धार्मिक महत्व अझ बढेको प्रसंगमा पुजारी दरै भन्छन्, “हालका राष्ट्रपति रामचन्द्र पौडेल यही मन्दिरमा आएर टीका–प्रसाद ग्रहण गरी चुनाव जितेर गएका हुन्, मनोकामना पुरा भएको जनविश्वास उच्च छ।’


मन्दिरमा एकादशी र औंसी बाहेक अन्य दिन नियमित पूजा हुन्छ भने दशैंको अवसरमा चार दिनसम्म विशेष मेला लाग्ने गर्दछ। उक्त समयमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्छ। मादी नदी किनारमा अवस्थित मन्दिर परिसरमा हाल बृहत पिकनिक स्पट निर्माण गरिएको छ। जस्का लागि १५ सय शुल्कमा पिकनिक स्थल प्रयोग गर्न सकिने र भाँडाकुँडा स्थानीय आमा समूहबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ।


तर, धार्मिक आस्थाको केन्द्र बन्दै गएको यो मन्दिर व्यवस्थापन र सुरक्षाको हिसाबले भने कमजोर देखिन्छ। दानपेटिकामा संकलित रकम चोरी भएपछि प्रहरीमा उजुरी दिँदा पनि चोरको पहिचान हुन नसकेको पुजारी दरैको गुनासो छ। “सबै काम आफैं गर्नुपरेको छ, मन्दिर परिसरमा चौकिदार अत्यावश्यक छ,” उनले भने।

छाङ्ग बाराही मन्दिरको स्थापना पूर्वको इतिहास पनि जनविश्वाससँग गहिरो रूपमा जोडिएको छ। किंवदन्ती अनुसार, एक स्थानीय व्यक्तिले खोल्सामा रहेको सिमलको रुख काट्न खोज्दा अचानक दुबै हात दुख्न थालेपछि ज्योतिषको सल्लाह लिइयो। दुम्सीचौरका फुलन्दे नामका ज्योतिषले त्यहाँ बराही देवीको वास रहेको र भाकल गरे मात्र निको हुने बताएपछि वैशाख १ गते पञ्चमीका दिन सामूहिक पूजा गरिएको र बिरामी निको भएको जनविश्वास रहँदै आएको छ।


धार्मिक आस्था, ऐतिहासिक विश्वास र प्राकृतिक सुन्दरताले भरिपूर्ण छाङ्ग बाराही मन्दिर आज पनि भक्तजन तानिरहेको छ। तर, संरक्षण, सुरक्षा र व्यवस्थित पूर्वाधार बिना यो मन्दिर अझै विकासको प्रतीक्षामा रहेको स्थानीयको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button