हेडलाईनसमाचारप्रदेश

यस वर्ष एसइई परीक्षा चैत १९ देखि, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

प्रहार समाचार । काठमाडौँ, ८ माघ २०८२ बिहीबार । आगामी प्रतिनिधिसभा निर्वाचनको समयतालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रभावित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि क्रमशः २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम पत्र र २६ गते ऐच्छिक द्वितीय पत्रको परीक्षा तोकिएको छ। चैत २७, २८ र २९ गते भने प्राविधिक धारअन्तर्गतका पुराना तथा नयाँ पाठ्यक्रमका विषयहरूको परीक्षा सञ्चालन गरिने परीक्षा बोर्डले जनाएको छ।


गत वर्ष एसइई परीक्षा चैत ७ गतेबाट सुरु भएको थियो। तर यस वर्ष फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय भएकाले परीक्षा करिब १२ दिन पछाडि सारिएको हो। परीक्षा बोर्डका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले नै एसइई प्रश्नपत्र छाप्ने भएकाले समय व्यवस्थापनका कारण परीक्षा मिति सार्नुपरेको हो।


यस वर्षको एसइई परीक्षामा करिब पाँच लाख १७ हजार विद्यार्थीले आवेदन दिएका छन्। बोर्डका तथ्याङ्कअनुसार गत वर्ष नियमिततर्फ चार लाख २१ हजार ५८५ र ग्रेडवृद्धितर्फ ७५ हजार ५३९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
निर्वाचन र शैक्षिक परीक्षा दुवै राष्ट्रिय महत्वका कार्य भएकाले समय व्यवस्थापन चुनौतीपूर्ण बनेको बोर्डको बुझाइ छ। यसैबीच, परीक्षा नजिकिँदै गर्दा विद्यार्थी, अभिभावक र विद्यालयहरू तयारीमा जुटेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button