प्रहार समाचार । तनहुँ , ८ माघ २०८१ बिहीबार । शहिद दिवसको अवसर पारेर व्यास नगरपालिकाले मानहुँकोटदेखि पुलिमराङ्ग शहिद पार्कसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन आयोजना गर्ने निर्णयसँगै नगर कार्यपालिकाको २३० औं बैठकले विकास, सेवा प्रवाह र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा नगर उपप्रमुख ईन्दिर दरै , प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले अघिल्लो कार्यपालिकाको निर्णय कार्यान्वयनको अवस्था समीक्षा गर्दै नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ।
बैठकले फागुन २५ गते सम्पन्न ४४ औं नगर सभाबाट पारित प्रस्तावहरूको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्दै बाँकी काम तत्काल अघि बढाउन सम्बन्धित शाखाहरूलाई स्पष्ट निर्देशन दिएको छ। बैठकको सबैभन्दा महत्वपूर्ण निर्णयमध्ये एकका रूपमा व्यास–५ स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र मानहुँकोटबाट व्यास–८ पुलिमराङ्गस्थित शहिद पार्कसम्म आयोजना हुने ४४ कि.मी. अल्ट्रा म्याराथन प्रतियोगिता रहेको छ। उक्त प्रतियोगितालाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा मूल समारोह समिति, उपप्रमुख ईन्दिरा दरैको संयोजकत्वमा अनुगमन समिति तथा नगर खेलकुद समितिका अध्यक्ष वन गुरुङ (कुमार)को संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।
त्यसैगरी धावक दर्ता तथा प्रशिक्षण, रुट तथा मञ्च व्यवस्थापन, प्रचार–प्रसार, यातायात तथा सुरक्षाका लागि नगरका विभिन्न शाखा र नगर प्रहरी इकाइलाई जिम्मेवारी तोकिएको छ। नगरपालिकाले यस प्रतियोगितामार्फत व्यासको पर्यटन प्रवर्द्धन र शहिदप्रति सम्मान व्यक्त गर्ने लक्ष्य लिएको जनाएको छ।
बैठकले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगबाट जारी आचारसंहिताको पूर्ण पालना नगरभित्र गराउने निर्णय पनि गरेको छ। यस निर्णयले स्थानीय तहबाट निर्वाचन स्वच्छता कायम गर्न प्रतिबद्धता देखाएको छ।


आर्थिक पक्षमा चालु आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाको कुल प्रक्षेपित आयमध्ये पौष मसान्तसम्म करिब ४० प्रतिशत राजस्व संकलन भएको जानकारी बैठकमा प्रस्तुत गरिएको छ। आन्तरिक आयतर्फ प्रक्षेपित रकमको ३२ प्रतिशतभन्दा बढी संकलन भइसकेको बताइएको छ।
व्यास नगरपालिकाको २३० औं बैठकले खेलकुद, पर्यटन, सुशासन र निर्वाचन व्यवस्थापनलाई एकसाथ अघि बढाउने दिशामा ठोस निर्णय गरेको निष्कर्ष निकालिएको छ।



























