प्रहार समाचार । तनहुँ, ७ माघ २०८२ बुधबार । ज्योतिष परिषद् नेपाल जिल्ला शाखा तनहुँले आफ्ना गतिविधिहरु बढाउँदै लगेको छ। आज दमौलीमा भएको विस्तृत भेलाले संगठन विस्तार, सदस्य सक्रियता र परिषद्को हकहितका विषयलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकबाट तनहुँ जिल्लाकी सदस्य बसन्ती नहर्की केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा बधाई सहित सफल कार्यकालको कामना गरेको छ ।

यसै अवसरमा परिषद् अन्तर्गतका आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गरिएको छ । केन्द्रीय सदस्य नहर्कीले प्रमाणपत्र हस्तान्तरण गर्दै ज्योतिष शास्त्रको संरक्षण, प्रवर्द्धन र सामाजिक उपयोगितालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रममा उपाध्यक्ष तुलसीराम उपाध्याय पौडेल, सचिव श्रीभद्र न्यौपाने, सह सचिव विजयराज भट्टराई लगायतले ज्योतिष शास्त्र सनातन ज्ञान–परम्पराको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक सोच र सामाजिक जिम्मेवारीसँग जोडेर अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा डा लक्षी कान्त चापागाई , दुर्गभक्त अधिकारी, रामचन्द्र गौतम लगायतले नेपाल ज्योतिष परिषद्को संस्थागत हकहित, सदस्यहरूको क्षमता अभिवृद्धि, भावी कार्यक्रम र जिल्लास्तरमा परिषद्को भूमिका विस्तार गर्ने विषयमा विचार–विमर्श गरेका थिए । कार्यक्रम ज्योतिष परिषद् नेपाल तनहुँ जिल्लाका अध्यक्ष रमेश पण्डितको सभापतित्वमा सम्पन्न भएको हो । अध्यक्ष पण्डितले परिषद्लाई अझ सशक्त, एकताबद्ध र समाजप्रति उत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।




























