प्रहार समाचार । काठमाडौँ, ६ माघ २०८२ मङ्गलबार । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभर देखिएको उत्साहले राजनीतिक अन्योलको अध्याय समाप्त भएको स्पष्ट पारेकी छन्। फागुन २१ गते हुने निर्वाचनका लागि आज मनोनयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको विश्वास थप मजबुत भएको दाबी गरिन्।

प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सरकार पूर्ण इमानदारीका साथ क्रियाशील रहेको बताइन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने उल्लेख गर्दै उनले सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिइन्।
१६५ प्रतिनिधिसभा सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता हुनु लोकतान्त्रिक अभ्यासप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण भएको प्रधानमन्त्रीको भनाइ छ। निर्वाचन प्रक्रियामा देखिएको सक्रियताले राजनीतिक क्षेत्र मात्र होइन, निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको उनले उल्लेख गरिन्।
सन्देशमा प्रधानमन्त्री कार्कीले निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर काम गरिरहेको निर्वाचन आयोगप्रति धन्यवाद व्यक्त गर्दै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई लोकतान्त्रिक अभ्यास सफल बनाउन रचनात्मक भूमिका खेल्न आग्रह गरेकी छन्। अन्त्यमा उनले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नागरिकलाई संयमित र सक्रिय सहभागिताको अपिल गरेकी छन्।



























