आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

तनहुँ–१ मा भट्टराईको प्रतिष्ठा, न्यौपानेको शक्ति र वाग्लेको पुनः परीक्षा

प्रहार समाचार । तनहुँ, ६ माघ २०८२ गलबार । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लिएर तनहुँ क्षेत्र नं १ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने छ। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. स्वर्णीम वाग्ले चुनावी मैदानमा उत्रिने भएपछि यो क्षेत्र ‘प्रतिष्ठा, शक्ति र विकल्प’को संघर्षस्थलका रूपमा हेरिन थालिएको छ।

नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपाने पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र नेतृका रूपमा चिनिन्छिन्। भानु नगरपालिकाको मेयर पदमा पराजित भए पनि पार्टी नेतृत्वको बलियो साथका कारण उनी राष्ट्रिय सभा सदस्य, प्रमुख सचेतक हुँदै छोटो समय मन्त्री समेत बनिन्। स्थानीय तहमा पराजय बेहोरेकी न्यौपानेलाई एमालेले यसपटक केन्द्रीय शक्ति र संगठनको भरमा संसद् प्रवेश गराउने रणनीति लिएको देखिन्छ।


उता नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पार्टीभित्र सन्त छवि र विकासप्रेमी नेताका रूपमा परिचित छन्। तर, उपनिर्वाचनमा रास्वपाका डा. स्वर्णीम वाग्लेसँग पराजित हुनुपरेको विगतले उनको उम्मेदवारीलाई ‘प्रतिष्ठाको पुनरागमन’सँग जोडिएको छ। कांग्रेसभित्र संगठनात्मक पकड बलियो भए पनि अघिल्लो हारले भट्टराईमाथि मतदाताको विश्वास पुनः जित्नुपर्ने चुनौती थपिएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णीम वाग्ले भने तनहुँ–१ बाट पुनः जित दोहोर्याउने दाउमा छन्। उपनिर्वाचनमा स्थापित राजनीतिक दलहरूलाई पराजित गरेका वाग्लेलाई रास्वपाले भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत समेत गरेको छ। सुशासन, अर्थतन्त्र र नयाँ राजनीतिक संस्कृतिको एजेन्डासहित मैदानमा उत्रिएका वाग्ले यसपटक पनि पुराना दलको गठजोड र प्रभावलाई तोड्ने प्रयासमा छन्।


यसरी तनहुँ–१ मा एकातिर विगतको पराजयबाट उठ्न खोजिरहेका भट्टराई, अर्कोतिर केन्द्रको शक्ति र नेतृत्वको साथ बोकेकी न्यौपाने, र तेस्रो कोणमा परिवर्तनको दाबी गर्दै पुनरावृत्ति खोजिरहेका वाग्लेबीचको प्रतिस्पर्धाले चुनावी माहोललाई थप चर्काउने देखिन्छ । तनहुँका मतदाताले ‘अनुभव, पहुँच र विकल्प’मध्ये कुन रोज्छन् भन्ने प्रश्नको उत्तर भने मतदानको नतिजाले मात्रै दिनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button