प्रहार समाचार । तनहुँ, ३ माघ २०८२ शनिबार । ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम तथा पर्यटकीय नगरी बन्दिपुरमा होटल तथा रेष्टुरेन्टहरूको खाद्य स्वच्छता र गुणस्तरको औपचारिक मूल्यांकन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको टोलीले बन्दिपुरका होटल–रेष्टुरेन्टको स्तरीकरण गर्दै मूल्यांकनका आधारमा स्टिकर वितरण गरेको हो।

खाद्य स्वच्छता, भान्सा व्यवस्थापन, सरसफाइ, कच्चा पदार्थको प्रयोग, सेवाको अवस्था लगायतका मापदण्डका आधारमा होटलहरूको वर्गीकरण गरिएको कार्यालयले जनाएको छ।
मूल्यांकन अनुसार ५० देखि ५९ अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले पहेँलो स्टिकर (सन्तोषजनक) र ६० वा सोभन्दा बढी अंक प्राप्त गर्नेले हरियो स्टिकर (मध्यम तथा उत्तम) पाएका छन्। बन्दिपुरमा सञ्चालनमा रहेका २६ वटा होटल तथा रेष्टुरेन्टमध्ये जम्मा ९ वटा मात्र हरियो स्टिकरको मापदण्डमा पर्न सफल भएका छन्।
स्तरीकरणमा क्याफे रेड क्यासलले उत्तम (२ हरियो स्टार) प्राप्त गरेको छ भने बन्दिपुर गेष्ट हाउस, श्रेष्ठ होटल एण्ड रेष्टुरेन्ट, द ओल्ड इन बन्दिपुर, बन्दिपुर बैदार क्याफे र कोजी माउण्टेनले मध्यम (१ हरियो स्टार) स्तर हासिल गरेका छन्।

त्यसैगरी होटल तीन धारा, सम्सारा बन्दिपुर रेष्टुरेन्ट र गाउँघर प्रालि सन्तोषजनक ठहरिँदै पहेँलो स्टिकरमा सूचीकृत भएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँका प्रमुख ज्याति आचार्यका अनुसार मापदण्ड नपुगेका अन्य होटल तथा रेष्टुरेन्टलाई सुधारका लागि समय उपलब्ध गराउँदै अनुसूची–५ को स्टिकर टाँस गरिएको छ।
कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय गन्तव्यका रूपमा बन्दिपुरको पहिचान थप मजबुत बनाउन खानपानको गुणस्तर र स्वच्छतामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए। उनले स्थानीय सरकार, व्यवसायी र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
उक्त अवसरमा गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, खाद्य गुण नियन्त्रण कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ बन्दिपुर इकाइ, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), होटल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नागरिक अगुवा तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
खानपानको गुणस्तर सुनिश्चित गर्दै पर्यटकको विश्वास जित्ने उद्देश्यसहित गरिएको यो स्तरीकरणलाई बन्दिपुरको पर्यटन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



























