प्रहार समाचार । तनहुँ, ३ माघ २०८२ शनिबार । भलिबल खेल हेर्न जान्छु भन्दै घरबाट निस्किएका तनहुँका एक युवकको शव एक दिनपछि खोलाको खोचमा फेला परेको छ। शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारा निवासी २६ वर्षीय संसार भुजेल मोटरसाइकलसहित खोलामा खसेको अवस्थामा मृत भेटिएका हुन्।

परिवारका अनुसार भुजेल माघ १ गते दिउँसो करिब ४ बजे भिमादस्थित रङ्गशालामा भलिबल खेल हेर्न जाने भन्दै ग १३ प ४०४२ नम्बरको बुलेट मोटरसाइकल लिएर घरबाट निस्किएका थिए। साँझ परिसक्दा पनि घर नफर्किएपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए।
इलाका प्रहरी कार्यालय बेलचौतारा, स्थानीयवासी तथा आफन्तको संयुक्त खोजीका क्रममा माघ २ गते साँझ म्याग्दे गाउँपालिका–५, धारापानी स्थित भित्री सडक खण्डबाट करिब ४०–४५ मिटर तल रुपाकुना खोलाको खोचमा उनको शव फेला परेको हो। उनी मोटरसाइकलसहित सडकबाट खसेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले साँझ नै घटनास्थलबाट शव बाहिर निकाली पोस्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाएको छ। प्रारम्भिक रूपमा दुर्घटना जस्तो देखिए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



























