प्रहार समाचार । तनहुँ, १ माघ २०८२ बिहीबार । नेपाली कांग्रेसको विशेष महाधिवेशनले तनहुँलाई केन्द्रीय राजनीतिमा थप सशक्त रूपमा उभ्याएको छ। बुधबार राति सम्पन्न महाधिवेशनबाट तनहुँका तीन जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै जिल्लाको प्रतिनिधित्व मजबुत बनेको हो।
महाधिवेशबाट ध्रुव वाग्ले खुल्ला तर्फ, चिनु पोख्रेल महिला तर्फ र प्रकाश पन्थ अपांगता कोटाबाट केन्द्रीय सदस्यमा चयन भएका हुन्।

तनहुँबाट तीन केन्द्रीय सदस्य निर्वाचित हुनु कांग्रेसभित्र जिल्लाको राजनीतिक सक्रियता र संगठनात्मक प्रभावको संकेतका रूपमा हेरिएको छ। स्थानीय तहदेखि केन्द्रसम्म निरन्तर सक्रिय नेताहरूले स्थान पाउनु तनहुँ कांग्रेसका लागि उत्साहजनक उपलब्धि मानिएको छ।
यसैबीच, विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। नेतृत्व परिवर्तनसँगै पार्टीभित्र नयाँ ऊर्जा र कार्यदिशाको अपेक्षा गरिएको छ।
केन्द्रीय समितिमा तनहुँको उल्लेखनीय उपस्थिति र नयाँ नेतृत्वको उदयले आगामी दिनमा पार्टीको नीति, संगठन र निर्वाचन रणनीतिमा जिल्लाको भूमिका अझ प्रभावकारी हुने विश्वास स्थानीय कांग्रेसजनले व्यक्त गरेका छन्।



























