हेडलाईनसमाचारप्रदेश

आज माघे संक्रान्ति पर्व : तीर्थ, आस्था र स्वास्थ्य संस्कृतिको संगम

प्रहार समाचार । तनहुँ, १ माघ २०८२ बिहीबार । आज देश भर माघे संक्रान्ति पर्व विविध कार्यक्रमका साथ मनाइँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा मनाइने माघे संक्रान्तिले आजदेखि उत्तरायणको सुरुवात गराएको छ। दिन लामो र रात छोटिँदै जाने यो खगोलीय परिवर्तनसँगै माघ १ गतेलाई धर्म, आस्था र शुभकर्मको प्रतीक दिनका रूपमा लिने चलन छ। उत्तरायण सुरु भएकै दिन स्नान, दान, जप, तप र ध्यान गर्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। यही विश्वासका कारण आज देशभरका तीर्थस्थलमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको छ। तस्विरहरु : प्रहार अनलाईन मिडिया

तनहुँको देवघाट, मादी र सेती नदिको संगम स्थल, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका धार्मिक स्थलहरूमा माघ स्नान गर्नेहरूको चहलपहल बढेको छ भने कतिपय स्थानमा विशेष मेला पनि आयोजना गरिएको छ। तराई क्षेत्रमा भने माघ १ लाई ‘नहान’ पर्वका रूपमा मनाइन्छ, जहाँ वर्षभर नुहाउन अनुकूल वातावरण नपाए पनि आजको दिन अनिवार्य स्नान गर्नुपर्ने मान्यता छ। तिल दान, घ्यू–चाकु सेवन र तीर्थ स्नानले सुन दान सरह पुण्य मिल्ने धार्मिक विश्वास समाजमा अझै बलियो देखिन्छ।


माघे संक्रान्ति धार्मिक मात्र नभई स्वास्थ्य र आयुर्वेदसँग पनि जोडिएको पर्व हो। जाडो मौसममा शरीरलाई न्यानो र सुदृढ बनाउने उद्देश्यले घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल, पालुङ्गो लगायत खाने परम्परा छ। आयुर्वेद चिकित्सकका अनुसार यी परिकारले त्रिदोष सन्तुलन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउँछन्। आजका दिन तिलको तेलले मालिस गर्दा नाडी, स्नायुमण्डल र हड्डी मजबुत हुने तथा शरीरका दूषित तत्व बाहिर निस्कने विश्वाससमेत रहेको छ।


माघ महिनासँगै माघमाहात्म्य र श्री स्वस्थानी व्रतकथाको महत्व पनि जोडिएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यसै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ, जसले तरुल, सखरखण्ड, पिँडालुजस्ता कन्दमूलको महत्व उजागर गर्छ। यसरी माघे संक्रान्ति आज आस्था, स्वास्थ्य र जैविक विविधताको सन्देश बोकेर नेपाली समाजमा मनाइँदैछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button