हेडलाईनसमाचारगण्डकी

गुणस्तरिय शिक्षामा जोड दिंदै लमजुङको बालविकास मा. वि.

प्रहार समाचार । लमजुङ, ३० पुस २०८१ बुधबार । लमजुङमा गुणस्तरीय शिक्षा प्रदान गरेर बालविकास माध्यामिक विद्यालयले उदाहरण प्रस्तुत गरेको छ।

बेसीशहर नगरपालिका–११, रामचोकबेसीमा रहेको बाल विकास माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा सुधार भएको उल्लेख गरिन्। उनले निजी विद्यालय मात्रै अब्बल हुन्छन् भन्ने धारणा गलत रहेको बताउँदै शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्यले सामुदायिक विद्यालयलाई अझ बलियो बनाउन सकिने धारणा व्यक्त गरिन्। आफ्नै बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गराउन सके विद्यालयप्रतिको अभिभावक विश्वास बढ्ने उनको भनाइ थियो।

कार्यक्रमका बेसीशहर नगरपालिका–११ का वडा अध्यक्ष शिवप्रसाद जोशीले वडाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट, पूर्वाधार र सेवा–सुविधा विस्तार गर्दै आएको जानकारी गराए। गुणस्तरीय शिक्षा स्थानीय विकासको आधार भएको उल्लेख गर्दै उनले विद्यालयसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमदत्त सेढाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मदनराज सेढाईले विद्यालयको शैक्षिक प्रगति, आर्थिक अवस्था र भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गरे। विद्यालयले पठनपाठनको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि बढाउने कार्यक्रम तथा सह–पाठ्यक्रम गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने लक्ष्य लिएको उनले बताए।

समारोहमा वडा सदस्य विजयराज सेढाई, लोकराज आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर बिष्ट, जनजागृति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र मगर, चिति साहित्य समाजका अध्यक्ष ज्ञानशाली पन्त, ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ का अध्यक्ष वासुदेव सेढाईलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै सामुदायिक विद्यालयको भूमिकाको प्रशंसा गरेका थिए।

.
वार्षिकोत्सवका अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक र सहयोगदाताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

शिक्षक सुदीप अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक नविन परियारले गरेका थिए। गुणस्तरीय शिक्षामा निरन्तर सुधार गर्दै सामुदायिक विद्यालयप्रतिको धारणा बदल्ने दिशामा बाल विकास माध्यमिक विद्यालय अघि बढिरहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button