प्रहार समाचार । काठमाडौं, ३० पुस २०८२ बुधबार । नेपाली कांग्रेसभित्र लामो समयदेखि चुलिँदै आएको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनमा सहभागी शीर्ष नेताहरूमाथि कठोर अनुशासनात्मक कारबाही गरेसँगै कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको संकेत देखिएको छ।

सानेपास्थित सभापति देउवा निवासमा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै केन्द्रीय सदस्य दीपक गिरीले उक्त कारबाही अनुशासन उल्लङ्घनका आधारमा गरिएको दाबी गरे।
देउवा पक्षले भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई विधानविपरीत र असंवैधानिक ठहर गर्दै त्यसमा संलग्न सबै नेताहरू पार्टी हितविरुद्ध उभिएको निष्कर्ष निकालेको छ। संस्थापन पक्षका अनुसार पार्टी विधानले नचिन्ने महाधिवेशनमा सहभागी हुनु गम्भीर अनुशासनहीनता हो।
तर, अर्कोतर्फ विशेष महाधिवेशन पक्षले भने पार्टीभित्रको नेतृत्व संकट समाधानका लागि बाध्य भएर कदम चालिएको तर्क गर्दै आएको छ। सो विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेललाई चयन गर्ने प्रक्रिया अघि बढाइसकेको छ।
एकातिर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाहीको बाटो समातेको छ भने अर्कोतर्फ विशेष महाधिवेशन पक्षले समानान्तर नेतृत्व संरचना बनाउने प्रक्रिया अगाडि बढाउँदा कांग्रेसभित्रको टकराव अब वैचारिक मतभेदभन्दा पर पुगेर संगठनात्मक विभाजनमा रूपान्तरण हुने संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाक्रमले कांग्रेसलाई एकताको विकल्पभन्दा विभाजनको यात्रातर्फ धकेलेको छ। अब आउने दिनमा पार्टीको कानुनी वैधता, संगठनको नियन्त्रण र चुनाव चिन्हसम्मको विषय अदालत र निर्वाचन आयोगसम्म पुग्ने सम्भावना पनि बढेको छ। य



























