हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

प्रथम गलेखामकोट उल्ट्रा हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न : गुरुङ भए प्रथम

प्रहार समाचार । तनहुँ, ३० पुस २०८२ बुधबार । खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित प्रथम गलेखामकोट उल्ट्रा हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । व्यास गुफादेखि गलेखामकोटसम्मको प्राकृतिक र चुनौतीपूर्ण रुटमा सम्पन्न प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका–४ बरादीका धावक सनम गुरुङ प्रथम भएका छन् । तस्बिरहरु : प्रहार अनलाईन मिडिया


“खेलकुद र पर्यटन प्रवर्द्धनका लागि खेलकुद–पर्यटन पर्व गलेखामकोट, हाम्रो सामूहिक गर्व” भन्ने नारासहित आयोजित प्रतियोगिता व्यास नगरपालिका–६ नम्बर वडा कार्यालयको प्रायोजनमा बाह्रबिसे युवा क्लब व्यास–६, बाह्रबिसेको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले खेलकुदले स्वास्थ्यसँगै पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउने बताए । उनले गलेखामकोट क्षेत्रको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्वलाई यस्ता प्रतियोगितामार्फत राष्ट्रियस्तरमा चिनाउन सकिने उल्लेख गरे ।

उप–प्रमुख इन्दिरा दरैले युवालाई सकारात्मक ऊर्जा र अनुशासनमा जोड्ने माध्यम खेलकुद भएको बताउँदै स्थानीय तहले खेलकुद र पर्यटनसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।


व्यासका अध्येता काशीनाथ न्यौपानेले गलेखामकोटको सम्भावनालाई उजागर गर्न नियमित खेलकुद तथा सांस्कृतिक गतिविधि आवश्यक रहेकोमा जोड दिए ।

त्यसैगरी व्यास–६ का वडा अध्यक्ष एवं व्यास नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ (कुमार)ले स्थानीय युवाको सक्रिय सहभागिताले यस्ता कार्यक्रम सम्भव भएको बताउँदै आगामी दिनमा गलेखामकोटलाई खेलकुद–पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाले पनि यस्ता कार्यक्रमले गलेखामकोटको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने धारणा राखे ।

कुल ४३ जना धावक सहभागी प्रतियोगितामा आँबुखैरेनी–४ बरादीका सनम गुरुङ (जर्सी नं १३) प्रथम हुन सफल भए ।
शुक्लागण्डकी नगरपालिका–१० का टोपबहादुर कुमाल (जर्सी नं १७) द्वितीय र भानु नगरपालिका–११ का आदित्य जिसी (जर्सी नं २५) तृतीय स्थानमा रहे । त्यसैगरी मल केसी, साजन गुरुङ, सुवास श्रेष्ठ र कमल विक सान्त्वना भएका छन् ।

विजयी धावकहरूलाई नगर प्रमुख न्यौपाने, उप–प्रमुख दरै लगायत अतिथिहरूले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


प्रतियोगितामा प्रथमले नगद ३५ हजार रुपैयाँ, द्वितीयले २५ हजार, तृतीयले १५ हजार तथा सान्त्वना विजेताले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

स्थानीय युवाको अग्रसरता, नगरपालिकाको सहकार्य र खेलकुदप्रतिको बढ्दो आकर्षणले गलेखामकोटलाई नयाँ खेलकुद–पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रम बाह्रबिसे युवा क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button