आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

त्रिशूली नदिमा खसेको बस ‘गणपति डिलक्स’ को नै भएको पुष्टि

प्रहार समाचार । तनहुँ, ३० पुस २०८२ बुधबार । छ महिनाअघि त्रिशूली नदीमा हराएको ‘गणपति डिलक्स’ को नै भएको पुष्टि भएको छ । त्रिशूली नदि किनारको बालुवाले पुरिएको अवस्थामा गाडीका अवशेष भेटिएसँगै उक्त कुरा पुरिट भएको जिल्ला प्रहरी कार्यालय तनहुँको जनाएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–५ ढोन्द्राङ बेंसी नजिकै त्रिशूली नदीको किनारमा उक्त बसका पाटपुर्जा फेला परेको हो । खोजी तथा अनुगमनका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको टोलीले ‘गणपति डिलक्स’ नाम लेखिएको गाडीको अवशेष पहिचान गरेको हो । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, नदीको बहाव र बालुवाको थुप्रोबीच पुरिएका कारण अवशेष ढिलो फेला परेको हो ।


२०८१ असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स सिमलताल, चितवनमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता भएका थिए । देशलाई स्तब्ध बनाएको उक्त दुर्घटनामा गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।
दुर्घटनापछि गरिएको खोजीमा हालसम्म १४ जनाको शव फेला परेको भए पनि बाँकी यात्रु अझै बेपत्ता छन् । अहिले फेला परेका गाडीका अवशेषले घटनाको अनुसन्धानलाई थप आधार दिने विश्वास सुरक्षाकर्मीहरूले व्यक्त गरेका छन् ।


स्थानीयवासीका अनुसार, वर्षायामपछि नदीको बहाव घट्दै जाँदा बालुवामा पुरिएका संरचनाहरू क्रमशः देखिन थालेका छन् । उनीहरूले खोजीकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button