प्रहार समाचार । तनहुँ, २९ पुस २०८२ मङ्गलबार । तनहुँ उद्योग वाणिज्य संघको १८औँ महाधिवेशनबाट संघको अध्यक्षमा इमकुमार मल्ल निर्वाचित भएका छन्। सुरुमा विभिन्न पदमा प्रतिस्पर्धा देखिए पनि अन्तिम चरणमा उम्मेदवारी फिर्ता भएपछि नेतृत्व चयन प्रक्रिया सहमतिमै टुंगिएको हो।

अध्यक्ष मल्लसँगै वरिष्ठ उपाध्यक्षमा सुबोध अधिकारी, प्रथम उपाध्यक्षमा दिनेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भिमलाल श्रेष्ठ र कोषाध्यक्षमा शिवओम मल्ल निर्वाचित भएका छन्। वस्तुगत सदस्यमा अधिकृत बिक्रेता संघका लालप्रसाद प्रधान चयन भएका छन्।
संघभित्र देखिएको बहुआयामिक प्रतिस्पर्धा अन्ततः आपसी समझदारीमा रूपान्तरण हुनु सकारात्मक सन्देश भएको व्यवसायी वृत्तको प्रतिक्रिया छ। सहमति भएपछि सर्वसम्मत नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता सरिता भण्डारीले जानकारी दिइन् ।
नवनिर्वाचित नेतृत्वले व्यवसायीको हकहित संरक्षण, बजार व्यवस्थापन सुदृढीकरण तथा स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।



























