हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौँमा : उत्साह, अपेक्षा र परिवर्तनको लहर

प्रहार समाचार । काठमाडौं, २७ पुस २०८२ आइतबार ।
नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनले आज काठमाडौँलाई नै राजनीतिक उत्सवस्थलमा रूपान्तरण गरेको छ। पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनसँगै राजधानीका सडक, चोक र सभास्थलहरू कांग्रेसमय बनेका छन्। बिहानैदेखि सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत स्थानबाट सुरु हुने र्यालीको तयारीले भृकुटीमण्डपलाई केन्द्र बनाउँदै उत्साहपूर्ण माहोल सिर्जना गरेका छन्।


दिउँसो १ बजे भृकुटीमण्डपको खुला चौरमा औपचारिक उद्घाटन हुने तय भएको महाधिवेशनका लागि छ हजारभन्दा बढी प्रतिनिधि तथा कार्यकर्ताको उपस्थिति रहने आयोजक समितिले जनाएको छ। ५० जना अतिथि अट्ने मञ्च, हजारौँ कुर्सी, कांग्रेसका झण्डा, ब्यानर र प्रचार सामग्रीले सिंगारिएको परिसरले पार्टीभित्र देखिएको नयाँ ऊर्जा र आत्मविश्वासलाई प्रतिविम्बित गरेको छ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। यसपटक अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण नगरिनुले महाधिवेशनलाई पूर्ण रूपमा पार्टीभित्रको आत्ममूल्याङ्कन र पुनर्संरचनाको मञ्च बनाउने संकेत दिएको छ। देशभरबाट आएका अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन् भने उनीहरूका लागि आवास, खाना र नास्ताको व्यवस्थापन पनि सुचारु गरिएको छ।


महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन कानुनी बाध्यता मात्र नभई पार्टीलाई जीवन्त बनाउने ऐतिहासिक अवसर भएको बताएका छन्। उनीहरूको संयुक्त आह्वानमा “बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउने, जनभावनाअनुरूप नीति निर्माण गर्ने र नयाँ ऊर्जासहित नेतृत्व विकास गर्ने” प्रतिबद्धता स्पष्ट रूपमा व्यक्त गरिएको छ ।

आम कार्यकर्ताको तहमा विशेष महाधिवेशनलाई लिएर देखिएको उत्साह उल्लेखनीय छ। लामो समयदेखि संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र नेतृत्वको नवीकरणको अपेक्षा गर्दै आएका कार्यकर्ताहरू यो महाधिवेशनबाट ठोस निर्णय र सकारात्मक सन्देशको आशामा छन्। यही अपेक्षाले काठमाडौँको माहोललाई ‘विशेष महाधिवेशनमय’ बनाएको छ ।


उद्घाटनपछि पुस २८ गतेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बन्दसत्रले कांग्रेसको भावी दिशा तय गर्ने विश्वास गरिएको छ। यद्यपि नीतिगत दस्तावेजका विषयहरू सार्वजनिक रूपमा धेरै खुलाइएका छैनन्, तर पार्टी पुनर्निर्माण र संगठन बलियो बनाउने निर्णयहरू आउने आशा व्यापक छ। कांग्रेसको विशेष महाधिवेशन केवल औपचारिक कार्यक्रम मात्र नभई परिवर्तनको संकेत, आशाको सन्देश र नयाँ राजनीतिक संवादको सुरुवातका रूपमा हेरिएको छ। काठमाडौँमा देखिएको उत्साह र लहरले कांग्रेसभित्र परिवर्तित सोच, नयाँ नेतृत्वको खोज र सकारात्मक सञ्चारको सम्भावनालाई थप बल दिने विश्लेषकहरुको भनाई छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button