हेडलाईनसमाचारप्रदेश

आज पृथ्वी जयन्ती, सम्झायो राष्ट्रिय एकताको मर्म : इतिहास, एकीकरण र आजको जिम्मेवारी

प्रहार समाजार । काठमाडौँ, २७ पुस २०८२ आइतबार । आधुनिक नेपालको एकीकरण अभियानका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। इतिहासको एउटा मितिमा सीमित हुने दिवस मात्र नभई, आजको पृथ्वी जयन्तीले राष्ट्र निर्माण, एकता र साझा पहिचानको बहसलाई पुनः केन्द्रमा ल्याएको छ।


विसं १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा विभाजित तत्कालीन भूभागलाई एक सूत्रमा बाँध्ने साहसी अभियानको नेतृत्व गरेका थिए। सामाजिक, आर्थिक र भौगोलिक जटिलताबीच जनताको साथ र सहभागितामा अघि बढाइएको एकीकरण प्रयासले नै आधुनिक नेपालको आधार निर्माण गर्‍यो। २० वर्षको उमेरमै गद्दीआरोहण गरेका शाहले आन्तरिक तथा बाह्य चुनौतीलाई सामना गर्दै राष्ट्रको सीमाना र पहिचान सुरक्षित गरे।


राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबार पश्चिम ढोका अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिँदैछ। नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गीअड्डास्थित पूर्णकदको सालिकमा माल्यार्पण गर्दै राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गरेको छ। शाहको जन्मभूमि गोरखामा भने हरेक वर्षझैँ यसपटक पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।


यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह आयोजना गर्दै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको छ। यसले पृथ्वी जयन्तीलाई केवल ऐतिहासिक स्मरणभन्दा बाहिर निकालेर समसामयिक राजनीतिक र वैचारिक विमर्शसँग जोड्ने संकेत गरेको छ।
१८३१ सालमा ५२ वर्षको उमेरमा पृथ्वीनारायण शाहको निधन भए पनि उनले थालेको राष्ट्र निर्माणको यात्रा आज पनि नेपाली समाजका लागि मार्गदर्शक बनेको छ। पृथ्वी जयन्तीले विविधताभित्रको एकता, साझा इतिहास र सामूहिक गौरवको स्मरण गराउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिन्छ।


विशेषतः युवा पुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गर्न प्रेरित गर्ने अवसरका रूपमा पृथ्वी जयन्तीलाई हेरिन थालेको छ। इतिहास सम्झने मात्र होइन, त्यसबाट आजको नेपाललाई अझ एकताबद्ध, समावेशी र सुदृढ बनाउने संकल्प गर्ने दिनका रूपमा यस दिवसको महत्व झन् गहिरिँदै गएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button