प्रहार समाचार । काठमाडौँ, २७ पुस २०८२ आइतबार । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा तराई भूभागका विभिन्न स्थानहरूमा हुस्सु र कुहिरोको समस्या देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो कायमै रहने अनुमान गरिएको छ। यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा रहनेछ। आज राति पनि तराईका केही स्थानमा हुस्सु देखिन सक्ने महाशाखाले जनाएको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया खुला रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा देखिएको हुस्सु तथा कुहिरोका कारण विशेषगरी बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, पर्यटनसँगै हवाई र सडक यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ। कमजोर दृश्यताका कारण सवारी साधन सञ्चालनमा जोखिम बढ्ने भएकाले यात्रु, चालक र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले आगामी दिनहरूमा पनि बिहान–बेलुकी हुस्सु र कुहिरो देखिन सक्ने सम्भावना रहेकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउँदै सुरक्षित यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।



























