व्यासहेडलाईनसमाचारगण्डकी

बाह्य आम्दानी घटेपछि व्यास नगरपालिकाको बजेट १० करोडले घट्यो : ४४औँ अधिवेशनबाट संशोधित बजेट पारित

प्रहार समाचार । तनहुँ, २५ पुस २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिकाको ४४औँ अधिवेशन आज सम्पन्न भएको छ । नगरसभाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य तथा अन्य स्रोतबाट अपेक्षित राजश्व प्राप्त नहुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाइएको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ ।

 

नगर अधिवेशनका अध्यक्ष नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको हालसम्मको समग्र प्रगति समीक्षा प्रस्तुत गर्दै सीमित स्रोतसाधनका बीच पनि नगरले आधारभूत सेवा प्रवाह र विकास गतिविधिलाई निरन्तरता दिएको बताए । बाह्य आम्दानी घट्नु बजेट संशोधनको प्रमुख कारण रहेको उनको भनाइ थियो ।


नगर उपप्रमुख इन्दिरा दरैले संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक, संशोधित राजश्व तथा व्ययको अनुमान र न्यायिक समितिको प्रतिवेदन सभासमक्ष पेश गरिन् । प्रस्तुत विवरणअनुसार ४३औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ आय अनुमान गरिएकोमा बाह्य तथा अन्य आय घटेपछि ९ करोड ६४ लाख रुपैयाँ घटाई कुल १ अर्ब ७२ करोड १२ लाख रुपैयाँको संशोधित आय अनुमान प्रस्ताव गरिएको छ ।


गत आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब १० करोड ६५ लाख रुपैयाँको संशोधित आय अनुमान गरिएकोमा करिब १ अर्ब २९ करोड रुपैयाँ मात्र यथार्थ आय भएको विवरण सभामा प्रस्तुत गरिएको थियो । आन्तरिक आम्दानी अपेक्षाकृत लक्ष्य नजिक रहे पनि बाह्य तथा अन्य स्रोतमा ठूलो कमी आएको उल्लेख गरिएको छ ।


खर्चतर्फ पनि आयअनुसार नै संशोधन गर्दै चालु खर्चतर्फ करिब ९५ करोड ७४ लाख र पूँजीगत खर्चतर्फ ७६ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसरी कुल व्यय अनुमान पनि १ अर्ब ७२ करोड १२ लाख रुपैयाँमा सीमित गरिएको छ ।

नगरसभामा विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, संशोधित वन ऐन तथा समितिको प्रतिवेदन पेश गरेका थिए । बैठकमा संस्थागत व्यवस्था तथा क्षमता विकास समितिका संयोजक दलबहादुराले समितिको प्रतिवेदन पेश गरे भने सदस्य बिण्णुकुमार श्रेष्ठले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र दरबन्दी संरचना सभासमक्ष प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा समितिकी संयोजक गौकुमारी न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिन् । साथै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति गरी पाँचवटै विषयगत समितिका संयोजकबाट आ–आफ्नो समितिको प्रतिवेदन पेश गरिएको थियो ।

नगरसभाले प्रस्तुत सबै विधेयक, प्रतिवेदन र प्रस्तावहरू पारित गर्नुका साथै नगर कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन गरेको छ । कर्मचारीहरूको तलबी प्रतिवेदन, वार्षिक खरिद योजना पारित गर्दै महालेखा परीक्षकको करिब १८ करोड रुपैयाँ बराबरको सैद्धान्तिक बेरुजु सम्परीक्षण गरिदिन नियमित गर्ने निर्णय पनि सभाले गरेको छ ।


सभामा विभिन्न विषयमा सभासदहरूले उठाएका जिज्ञासाहरूको नगर प्रमुख बैकुण्ठ न्यौपाने , प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सीडीईले स्पष्टिकरण दिएका थिए । सभाले केही नयाँ शीर्षकहरूमा कर प्रस्ताव समेत पारित गरेको छ ।

४३औँ नगरसभाबाट प्रस्तावित आयभन्दा न्यून राजश्व प्राप्त हुने देखिएको भन्दै करिब १० करोड रुपैयाँ घटाएर न्यून बजेट पारित गरिए पनि वडास्तरीय योजनामा खासै असर नपर्ने जनाइएको छ । तर स्थानीय राजश्व बाँडफाँडसम्बन्धी सम्झौता नभएका केही आयोजनाहरू भने प्रभावित भई कार्यान्वयनमा नजाने नगरपालिकाले जनाएको छ ।


नगरसभाको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक तथा जिल्लास्थित सञ्चारकर्मीहरू दर्शक दीर्घामा उपस्थित थिए । ४४औँ नगरसभाले यथार्थपरक राजश्व अवस्थालाई आत्मसात् गर्दै संशोधित बजेट पारित गरेसँगै व्यास नगरपालिकाले स्रोत व्यवस्थापनमा कडाइ गर्दै प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने संकेत दिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button