प्रहार समाचार । काठमाडौं, २५ पुस २०८२ शुक्रबार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले मन्त्री पद सम्हालेपछि प्राप्त भएका सबै विदेश भ्रमणका निमन्त्रणाहरू अस्वीकार गरेको खुलासा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै मन्त्री पुनले देशको कमजोर अर्थतन्त्र सुधार नगरी केवल नेतृत्व परिवर्तन वा विदेश भ्रमणले कुनै ठोस प्रगति नहुने स्पष्ट पारेका हुन्।

उनका अनुसार मन्त्री बन्नुअघि नै तीन वटा विदेश भ्रमणका निमन्त्रणाहरू आएका थिए, तर ती भ्रमणमा सहभागी भएनन्। अहिले फेरि दुई वटा निमन्त्रणाहरू आएको उल्लेख गर्दै उनले यसपटक पनि नजाने निर्णय गरेको बताएका छन्। पुनले लेखेका छन्, “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थ मन्त्री आए पनि प्रगति हुनेवाला छैन, किनकि केही गर्न पैसा चाहिन्छ।”
मन्त्री पुनले विदेश भ्रमणले अर्थतन्त्र सुधार हुन्छ भन्ने धारणा प्रति प्रश्न उठाउँदै “विदेश घुमेर अर्थतन्त्र बन्छ ?” भनी व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका छन्। उनको यो भनाइले सरकारी खर्च, विदेश भ्रमणको औचित्य र विकासको प्राथमिकता माथि पुनः बहस सुरु गराएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको मन्त्री पुनको धारणा अहिले व्यापक रूपमा चर्चामा छ। धेरैले उनको सादगी र खर्च कटौतीको सोचको प्रशंसा गरेका छन् भने केहीले अन्तर्राष्ट्रिय सहकार्य र कूटनीतिक भ्रमणको आवश्यकता पनि औंल्याएका छन्। मन्त्री पुनको यो अभिव्यक्तिले सरकारको विकास दृष्टिकोण र स्रोत व्यवस्थापनप्रति जनस्तरमा नयाँ बहस जन्माएको छ।


























