हेडलाईनसमाचारगण्डकी

लमजुङको मध्यनेपाल नपाद्वारा पशुपालन व्यवसाय विस्तारका लागि करोडौँको अनुदान : किसान–उद्यमीलाई प्रस्ताव आव्हान

प्रहार समाचार । लमजुङ, २५ पुस २०८२ शुक्रबार । लमजुङको मध्यनेपाल नगरपालिकाले व्यवसायिक पशुपन्क्षीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आ.व. २०८२/८३ का लागि विशेष अनुदान कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन हुने उक्त कार्यक्रमका लागि गाई–भैसी पालनमा संलग्न निजी कृषि फर्म, उद्यमी, समूह तथा सहकारीबाट प्रस्ताव आव्हान गरिएको हो।

नगरपालिकाले पहिलो पटक सार्वजनिक गरेको सूचनाअनुसार आधुनिक तथा मझौला गोठ निर्माण, गोठ सुधार–मर्मत, उच्च प्रजनन मानका गाई खरिद, कृषि यान्त्रिकरण, दुध उत्पादनमा आधारित अनुदान र दुध संकलन केन्द्र स्थापना लगायतका कार्यक्रम समेटिएका छन्। यी कार्यक्रममार्फत स्थानीयस्तरमै पशुपालनलाई व्यवसायिक बनाउने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।


कार्यक्रम अन्तर्गत आधुनिक गोठ निर्माणमा ७५ प्रतिशत अनुदानसहित ६ वटा योजना, मझौला गोठ निर्माणमा १६ वटा, गोठ सुधार तथा मर्मतमा ३० वटा योजना समावेश छन्। त्यसैगरी ४० वटा उच्च प्रजनन मानका गाई खरिदमा ५० प्रतिशत अनुदान, २७ वटा कृषि यान्त्रिकरण कार्यक्रम र दुध उत्पादनका आधारमा प्रति लिटर १० रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ। दुध संकलन केन्द्र स्थापना कार्यक्रममा निजी फर्मलाई ७५ प्रतिशत र समूह तथा सहकारीलाई ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ।

सूचना प्रकाशन मिति आजबाट १५ दिनभित्र आवश्यक कागजातसहित पशु सेवा शाखा भोर्लेटार वा पशु सेवा केन्द्र सोतीपसलमा प्रस्ताव पेश गर्नुपर्नेछ। तोकिएको म्यादपछि वा अपूर्ण कागजातसहित प्राप्त हुने आवेदन मूल्याङ्कन प्रक्रियामा समावेश नहुने नगरपालिकाले स्पष्ट पारेको छ। पशु विकास अधिकृत डा. बिलबहादुर राना मगरका अनुसार “व्यवसायिक पशुपन्क्षीपालन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२” अनुसार सबै कार्यक्रम कार्यान्वयन हुनेछन्। यसले मध्यनेपाल क्षेत्रमा पशुपालनलाई आधुनिक र व्यवसायिक बनाउँदै स्थानीय अर्थतन्त्र मजबुत बनाउने अपेक्षा गरिएको छ। हेरौं सूचना :


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button