हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

तनहुँको दमौलीमा सुरक्षित मातृत्व अधिकारबारे बहस : सेवाप्रवाह र कानुनी कार्यान्वयन जोड

प्रहार समाचार । तनहुँ, २५ पुस २०८२ शुक्रबार । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा सेवा प्रदायक, कानुन व्यवसायी र सरोकारवालाबीच व्यवहारिक समस्या र समाधानका उपायबारे छलफल गरिएको छ ।

मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्मा पौडेलले सुरक्षित मातृत्व सम्बन्धी कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसक्दा समस्या देखिने गरेको बताए । उनले कानुन, नीति र सेवाबीचको दूरी घटाउन सचेतना र संस्थागत सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले प्रजनन स्वास्थ्यसँग जोडिएका मुद्दामा संवेदनशील र मानवअधिकारमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्तव्य राख्दै सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै राज्यका निकायबीच समन्वय आवश्यक रहेको बताए ।

प्रदेश अस्पताल दमौलीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन बरालले स्वास्थ्य संस्थाले सुरक्षित मातृत्व सेवामा सुधार गर्दै आएको उल्लेख गर्दै अझै जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए ।


तनहुँ बार एसोसिएसनका अध्यक्ष सरिता भण्डारीले महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न कानुनी पहुँच सरल हुनुपर्ने उल्लेख गरिन् । उनले पीडित महिलाले सहजै न्याय पाउने वातावरण निर्माण गर्न कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइन् ।


प्रदेश अस्पताल दमौलीमा सम्पन्न कार्यक्रम कमलामोहन वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने उप–न्यायाधिवक्ता खेमराज पाठकले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा दमौली अस्पताल तथा व्यास नगर अस्पतालका कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम प्रदेश अस्पताल दमौलीको समन्वयमा सम्पन्न भएको थियो ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button