प्रहार समाचार । तनहुँ, २५ पुस २०८१ शुक्रबार । तनहुँको भानु साहित्य उद्यानलाई दीर्घकालीन साहित्यिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित भानु नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितको गुरुयोजना स्वीकृत गरेको छ। नगर कार्यपालिकाबाट पारित गुरुयोजनाअनुसार उद्यानको पूर्ण निर्माणका लागि करिब १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

गुरुयोजना कार्यान्वयनको पहिलो चरणका रूपमा चालु आर्थिक वर्षमा संघीय शहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। सो बजेटबाट शिखर कटेरी हुँदै रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति (कालोपत्रेसहित) तथा ५४ फिट अग्लो भानु आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माणलगायतका भौतिक संरचनाको काम अघि बढाइने नगरपालिकाले जनाएको छ।

भानु नगर प्रमुख आनन्दराज त्रिपाठीको पहलमा पछिल्लो समय भानु साहित्य उद्यानले संघीय तहमा विशेष प्राथमिकता पाउँदै आएको छ। नगर प्रमुख त्रिपाठीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पटक–पटक भेटघाट, छलफल र पहल गरेकै कारण गत आर्थिक वर्षमा रम्घा डाँडामा रिटेनिङ वाल निर्माण तथा जग्गा अधिकरणको काम सम्पन्न भएको थियो। हालसम्म गुरुयोजनाका लागि करिब ४ सय रोपनी जग्गा प्राप्त भइसकेको छ।

भानु साहित्य उद्यानलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै बहुवर्षीय योजनामा समावेश गर्न भानु नगरपालिका र भानु साहित्य उद्यान विकास समितिले राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन्। राष्ट्रपतिका प्रमुख प्रेस सल्लाहकार किरण पोख्रेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले पनि गुरुयोजना पूर्णताप्रति विशेष चासो देखाउनुभएको छ। केही दिनभित्र गुरुयोजनालाई राष्ट्रपति मार्फत अर्थ मन्त्रालयमा बहुवर्षीय योजनाका रूपमा सिफारिस गरिने तयारी रहेको जनाइएको छ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठीले भानु नगरपालिकाको समग्र विकास, विशेषतः भानु साहित्य उद्यान निर्माणका लागि राष्ट्रपतिको चासो र पहलप्रति आभार व्यक्त गरे। कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, भानु साहित्य उद्यान विकास समितिका महासचिव वर्तराज आचार्य, उपाध्यक्ष विधान आचार्य, परामर्शदाता, नगरका शाखा प्रमुखहरू तथा डुम्रे भन्सार शहरी विकास कार्यालय र नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनील पाण्डेले गरेका थिए।



























