प्रहार समाचार ।काठमाडौँ, २३ पुस २०८२ बुधबार । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। करिब ११५ दिन सरकारको जिम्मेवारी सम्हालेका घिसिङले हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका हुन्।

जेन–जी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा मन्त्रीको रूपमा अवसर पाएको उल्लेख गर्दै घिसिङले आफ्नो कार्यकालमा सुशासन कायम गर्ने, वर्षौँदेखि अलपत्र परेका विकास आयोजनालाई अघि बढाउने तथा ऊर्जा, जलस्रोत, सिँचाइ र पूर्वाधार क्षेत्रको सुधारका लागि इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन्। राजीनामा पत्रमार्फत उनले प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, कर्मचारी तथा सरोकारवाला सबैप्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गरेका छन्।
राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले आफू हालसम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्पष्ट पारे। उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच पार्टी एकताको सहमति भए पनि आफूले औपचारिक सदस्यता नलिएको उनको दाबी छ। “प्रधानमन्त्रीको अनुरोध र जेन–जी आन्दोलनको म्यान्डेटअनुसार मैले मन्त्री पद स्वीकार गरेको थिएँ,” उनले भने, “राजीनामा भाग्ने निर्णय होइन, जनताप्रतिको प्रतिबद्धताका कारण गरिएको निर्णय हो।”
मन्त्री पदबाट बाहिरिए पनि जनताको मुद्दाबाट अलग नहुने घिसिङको भनाइ छ। उनले अबको बाटो राजनीतिक नै हुने संकेत गर्दै भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी वहन गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पद त्यागेपछि घिसिङको आगामी राजनीतिक यात्राबारे विभिन्न अड्कल र विश्लेषण सुरु भएको छ।
हेरौं घिसिङको राजिनामा पत्र :

























