प्रहार समाचार । तनहुँ, २४ पुस २०८२ बिहीबार । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको १३ औँ अधिवेशनले बन्दीपुर गाउँपालिका वडा नं. ४ टुँडिखेल निवासी व्यवसायी सङ्गिता प्रधानलाई सभापति पदमा निर्वाचित गरेको छ। लामो समयदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय प्रधानको नेतृत्वलाई महिला उद्यमशीलता सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

विभिन्न संघ–संस्थामा रहेर अनुभव सँगालेकी नवनिर्वाचित सभापति प्रधानले महिला उद्यमीहरूलाई संगठित गर्दै उद्यमशीलता प्रवर्द्धन, व्यवसायिक सशक्तिकरण र संस्थागत विकासमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले महिलाहरू आत्मनिर्भर बनेर स्थानीय अर्थतन्त्रमा योगदान दिन सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा सम्पूर्णप्रति धन्यवाद दिएकी छन्।
प्रधानको निर्वाचित कार्यकालप्रति जिल्लास्तरका नेतृत्वहरूले पनि आशा व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, तनहुँ उद्योग वाणिज्य संघका सभापति बैकुण्ठ मिश्र, उद्योग वाणिज्य संघ बन्दीपुर इकाईका सभापति घनश्याम उपाध्याय लगायतले नवनिर्वाचित सभापतिलाई बधाई दिँदै सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले महिला उद्यमी समितिको सक्रियताले जिल्लामा समावेशी आर्थिक विकासलाई थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरे।
























