प्रहार समाचार । तनहुँ,२३ पुस २०८१ बुधबार । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयन प्रक्रिया रोचक मोडमा पुगेको छ। उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी निर्विरोध निर्वाचित भएसँगै इकाईको अधिकांश पद सर्वसम्मत टुंगिएको भए पनि अध्यक्ष पदमा सहमति नजुट्दा निर्वाचन अपरिहार्य बनेको हो। सदस्य पदमा बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी, अलि मिया र सुमिन मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी श्रेष्ठ र दाहाल:

अध्यक्ष पदका लागि उपाध्यक्ष शेषराज श्रेष्ठ र सचिव अञ्जु दाहालबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ। ६ सय ५२ मतदाता रहेको इकाईमा दिउँसो ४ बजेदेखि मतदान सुरु भइसकेको छ। पूर्व उपसभापति रहिसकेका श्रेष्ठ व्यवसायिक वृत्तमा परिचित अनुहार मानिन्छन् भने दमौली बजारमा नेवार समुदायका मतदाता बढी भएकाले जातीय आधारमा पनि उनी बलियो देखिएको आँकलन गरिएको छ। यस्तै, उनी नेपाली कांग्रेस समर्थक भएकाले अघोषित रूपमा कांग्रेस र एमाले निकट मत पनि उनकै पक्षमा पर्ने विश्लेषण बजारभित्र चर्चामा छ।
उता अञ्जु दाहाल महिला उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी छन्। महिलाको मत आफ्नो पक्षमा आउने विश्वासका साथ उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय रूपमा उत्रिएकाले नयाँ र परिवर्तन चाहने मतदाताको समर्थन पनि पाउने अपेक्षा गरिएको छ। सरल बोली, सबैसँग घुलमिल हुने क्षमता र समन्वयकारी स्वभाव उनको बलियो पक्ष मानिन्छ। व्यावसायिक संस्था भए पनि पछिल्ला वर्षहरूमा बजार इकाईको चुनावमा राजनीतिक झुकाव र सामाजिक समीकरणले भूमिका खेल्दै आएको देखिन्छ।
मतदान जारी रहँदा दुवै पक्षका समर्थकहरू नतिजा आफ्नै पक्षमा आउने दाबी गरिरहेका छन्। स्पष्ट बहुमत कसले हासिल गर्ने भन्ने विषय अझै खुल्न बाँकी छ। दमौली बजार इकाईको अध्यक्ष पदमा कसले बाजी मार्ला भन्ने प्रश्नको उत्तर भने मतगणनापछि मात्रै स्पष्ट हुने देखिन्छ।




















