प्रहार समाचार । तनहुँ, २३ पुस २०८२ बुधबार । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको सभापति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। कूल ६ सय ५२ मतदाता रहेको इकाईमा ४ सय २२ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदान सकिएसँगै आजै राति ८ः४५ बजेबाट मतगणना सुरु हुने तयारी गरिएको छ।

यसअघि इकाईका अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् भने सदस्य पदमा बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी, अलि मिया र सुमिन मल्ल सर्वसम्मत चयन भएका हुन्।
सभापति पदमा भने सहमति नजुटेपछि निर्वाचन भएको हो। सभापतिका लागि वर्तमान उपाध्यक्ष शेषराज श्रेष्ठ र सचिव अञ्जु दाहालबीच प्रतिस्पर्धा भएको छ। दिउँसो ४ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
व्यावसायिक संस्था भए पनि सभापति निर्वाचनलाई विभिन्न कोणबाट हेरिएको छ। पूर्व उपसभापति समेत रहिसकेका शेषराज श्रेष्ठ अनुभवी र बजारमा परिचित अनुहार मानिन्छन्। दमौली बजारमा नेवार समुदायका मतदाता बढी रहेको र उनी नेपाली कांग्रेस समर्थक भएकाले अघोषित रूपमा कांग्रेस र एमाले निकट मत समेत उनको पक्षमा जाने विश्लेषण गरिएको छ।
यता अञ्जु दाहाल महिला उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी हुन्। महिलाको मत आफ्नो पक्षमा आउने विश्वासका साथ उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय रूपमा देखिएकी छन्। नयाँ सोच, परिवर्तनको चाहना र सबैसँग घुलमिल हुने स्वभावका कारण नयाँ मतदाता र युवापंक्तिको समर्थन पनि उनले पाउने अपेक्षा गरिएको छ। मतदान प्रतिशत र दुवै पक्षको सक्रियताले निर्वाचन प्रतिस्पर्धात्मक बनेको छ। कसले बाजी मार्ला भन्ने विषय मतगणनापछि मात्रै स्पष्ट हुने भएकाले दमौली बजारका व्यवसायी र सरोकारवाला मत परिणामको प्रतीक्षामा छन्।
























