हेडलाईनसमाचारबागमती

पद्मकन्या क्याम्पसमा चारदिने आत्म–रूपान्तरण अभ्यास

प्रहार समाचार । काठमाडौँ, १८ पुस २०८२ शुक्रबार।आधुनिक शिक्षासँगै आत्मिक अनुशासन र नैतिक चेतनाको आवश्यकता बढ्दै गएको सन्दर्भमा पद्मकन्या बहुमुखी क्याम्पसमा आयोजित चार दिवसीय चेतनामूलक कार्यक्रमले विद्यार्थी जीवनमा नयाँ दृष्टिकोण थपेको छ। योग, ध्यान र गायत्री मन्त्रमार्फत आत्म–रूपान्तरणको व्यवहारिक अभ्यास गराउने उद्देश्यसहित कार्यक्रम हिंजो सम्पन्न भएको हो।

गायत्री परिवार, पद्मकन्या बहुमुखी क्याम्पस, पद्मकन्या बहुमुखी क्यम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा गायत्री परिवार बाँसबारी, काठमाडौँकी अध्यक्ष सावित्री काफ्लेले प्रशिक्षण प्रदान गर्दै आन्तरिक चेतना जागृत नगरी बाह्य परिवर्तन सम्भव नहुने बताइन्। ‘आफू ब्राह्मण परिवारमा जन्मेकी, आमाले सातै बर्षको उमेरदेखि पूजाका भाँडा माझ्न लगाउनु हुन्थ्यो, शङ्ख माझ्न चाहिँ हुन्छ बजाउन चाहिं हुँदैन शंङ्ख बजाउली नि छोरी , बजाउनु हुँदैन ।’ आमाले भनेको स्माण सुनाउँदा सभाहलमा सन्नाटा छाएको थियो । त्यस पछि उनले फुकेको शङ्खध्वनिले सभाहल गुञ्जिन पुगेको थियो ।

‘योग र ध्यान केवल शारीरिक अभ्यास मात्र होइन, यो जीवनलाई सन्तुलित, सकारात्मक र जिम्मेवार बनाउने साधना हो,” उनले भनिन्, “गायत्री मन्त्रले सोच, कर्म र व्यवहारलाई शुद्ध बनाउँदै व्यक्तिलाई समाजप्रति उत्तरदायी बनाउँछ।’ – काफ्लेले भनिन् ।

कार्यक्रममा भारतबाट एमए तहमा अध्ययनरत सृष्टि रणाकोटी, दिव्यान्सी दौडियाल र नन्दिनी सैनीको सहभागिताले अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानको सन्देशसमेत दिएको थियो। उनीहरूले नेपालमा आध्यात्मिक चेतनामा आधारित यस्ता कार्यक्रमहरू अर्थपूर्ण र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।

चार दिनसम्म चलेको कार्यक्रममा व्यक्तिगत जीवनमा सकारात्मक सोच विकास, आत्मअनुशासन, मानसिक सन्तुलन र सामाजिक उत्तरदायित्व निर्माणमा योग तथा ध्यानको भूमिकामाथि गहिरो छलफल तथा बहस र अभ्यास गरिएको थियो। प्रशिक्षकहरूले गायत्री मन्त्रको आध्यात्मिकसँगै वैज्ञानिक पक्ष, ध्यान अभ्यासबाट तनाव व्यवस्थापन गर्ने उपाय तथा योगमार्फत स्वस्थ जीवनशैली निर्माण गर्ने विधिबारे व्यवहारिक प्रशिक्षण दिएका थिए ।

पद्मकन्या क्याम्पस स्ववियू सभापति भूपेश्वरी ऐर भूपिले विद्यार्थीको सर्वाङ्गीण विकासमा योग, ध्यान र नैतिक शिक्षाको महत्व औँल्याउँदै भविष्यमा पनि यस्ता सकारात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। ‘शिक्षा केवल डिग्रीमा सीमित हुनु हुँदैन, चेतनशील र जिम्मेवार नागरिक उत्पादन गर्नु हाम्रो लक्ष्य हो, उनले भनिन्।

त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनकी सदस्य चेतना नहर्कीले विद्यार्थी जीवनमै आत्मविकास र नैतिक चेतनाको बीउ रोप्ने यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताइन्। ‘पाठ्यक्रमसँगै जीवनोपयोगी चेतनाको विकास भए मात्र शिक्षा पूर्ण हुन्छ,” उनले भनिन्।

कार्यक्रममा सहभागीहरूले योग, ध्यान र गायत्री मन्त्रको अभ्यासले व्यक्तिगत जीवनमा मात्र नभई समाजलाई समेत सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता चेतनामूलक कार्यक्रमहरूको निरन्तरताको अपेक्षा गरेका छन्। क्याम्पस र स्ववियूले पनि आगामी दिनहरुमा यस्तै प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button