हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको बेनीकोटका युवाहरू प्रतीक्षालय गर्न व्यस्त

• इश्वर बास्तोला ( प्रहार समाचार) तनहुँ, १६ पुस २०८२ बुधबार । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटमा स्थानीय युवाको सक्रियताले यात्रुका लागि आधारभूत सुविधा थपिने भएको छ। बेनीकोटका मित्रता टोल, रिपटोल र खतरा चोकमा तीनवटा यात्रु प्रतीक्षालय निर्माण कार्य सुरु गरिएको हो। सिद्धबाबा युवा क्लबको पहलमा स्थानीय जनश्रमदान र चाडपर्वमा संकलित रकम प्रयोग गरी प्रतीक्षालय निर्माण थालिएको हो।

क्लबका पूर्वअध्यक्ष लेखबहादुर थापाका अनुसार गाउँकै युवाहरूको अग्रसरतामा सार्वजनिक हितको काम अघि बढाइएको हो। देउसी–भैलो खेलेर उठेको रकमलाई यात्रु प्रतीक्षालय निर्माणमा खर्च गर्ने निर्णय गरिएको सिद्धबाबा युवा क्लबका अध्यक्ष मनिष थापाले बताए। उनका अनुसार सीमित स्रोत हुँदाहुँदै पनि समुदायको आवश्यकतालाई केन्द्रमा राखेर काम अघि बढाइएको हो।


बेनीकोटमा हाल एउटा मात्र बस सञ्चालनमा छ। बिहान ९ बजे बेनीकोटबाट छुट्ने र दिउँसो ४ बजे दमौली बजारको पदम चोकबाट फर्किने दैनिक समयतालिका रहेको बसका चालक पूर्णबहादुर थापाले बताए। सडक स्तरोन्नति नहुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए। प्रतिक्षालय निर्माणमा आफ्नो सीप प्रयोग गर्न पाउँदा स्थानीय दिनबहादुर थापा उत्साहित देखिएका छन्।


गाउँका कृषि उपज बजारसम्म लैजान र विद्यार्थीहरूलाई दैनिक विद्यालय आवत–जावत गर्न कठिनाइ भइरहेको अभिभावक गणेश रानाले बताए। उनका अनुसार यात्रु प्रतीक्षालय बनेपछि कम्तीमा बस कुर्ने यात्रुलाई सुरक्षित र व्यवस्थित स्थान मिल्ने अपेक्षा गरिएको छ। स्थानीय युवाको यो पहलले बेनीकोटमा सामुदायिक सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button