प्रहार समाचार । तनहुँ, १६ पुस २०८२ बुधबार । ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरले एकैचोटि नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वस्तरमा चिनाउने साहसिक प्रयास गरेको छ। बन्दीपुरको टुंडिखेलमा एकै गीत, एउटै तालमा एक हजारभन्दा बढी युवायुवतीले चुड्का/कौरा नृत्य प्रस्तुत गर्दै नौलो कीर्तिमानी माहोल सिर्जना गरेका छन्। जातीय पहिचान झल्किने भेषभूषामा सजिएका नर्तक–नर्तिकाको सामूहिक प्रस्तुतिले सिङ्गो बन्दीपुर नै उत्सवमय बनेको देखिन्थ्यो।

‘नानी त रहिछ्यौ हाम्रै दामाली…’ बोलको चर्चित चुड्का गीत बजेसँगै टुंडिखेलमा उम्लिएको जनसागरले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको थियो। एउटै स्थानमा, एउटै गीतमा हजारभन्दा बढी सहभागी गराई विश्व रेकर्ड कायम गर्ने लक्ष्यसहित हिंजो बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका संयोजक तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले क्याम्पस, विद्यालयका विद्यार्थी र स्थानीय युवायुवतीको सहभागितामा तनहुँको पहिचान झल्कने चुड्का नृत्य प्रस्तुत गरिएको बताए ।
उनले तनहुँ कला र संस्कृतिमा धनी जिल्ला भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै संस्कृति संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइए पालिकाको निति तथा कार्यक्रम तय गरिएको बताए ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङका अनुसार सन् २०२५ ले यहाँको पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित भएको छ भने सन् २०२६ लाई ‘साहसिक पर्यटन वर्ष’का रूपमा मनाउने तयारी भइरहेको छ। यसैबीच पर्यटकको चहलपहल बढेसँगै होटल र होमस्टे भरिभराउ भएको पर्यटन उद्योग वाणिज्य संघ बन्दीपुर इकाइ का सभापति घनश्याम उपाध्यायले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाले सिद्धगुफा, मिनी ग्रेटवाल, मणिमुकुन्दसेन पदमार्गलगायत पूर्वाधार सम्पन्न गर्दै ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई जोडेर बन्दीपुरले अब संस्कृतिसँगै पर्यटनको नयाँ उचाइ तय गर्ने संकेत दिएको पालिकाका उपाध्यक्ष पंचमायाँ गुरुङले बताइन् । तस्बिर : सागर गिरी


























