प्रहार समाचार । तनहुँ, १४ पुस २०८२ सोमबार । तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा स्थानीय युवाको अग्रसरतामा यात्रु प्रतीक्षालय निर्माण सुरु भएको छ। गाउँमा बढ्दो यातायात आवश्यकतालाई मध्यनजर गर्दै सिद्धबाबा युवा क्लबको पहल र स्थानीयको जनश्रमदानबाट प्रतीक्षालय निर्माण अघि बढाइएको हो। क्लबका पूर्व अध्यक्ष लेखबहादुर थापाका अनुसार सामूहिक प्रयासले गाउँमै आवश्यक संरचना बनाउने लक्ष्यसहित निर्माण कार्य थालिएको हो।

यात्रु प्रतीक्षालय निर्माणका लागि आवश्यक रकम देउसी–भैलो खेलेर संकलन गरिएको क्लबका अध्यक्ष मनिष थापाले बताए। ‘सानो प्रयासबाट ठूलो काम सम्भव हुन्छ भन्ने उदाहरण दिन चाहेका छौं’- उनले भने। निर्माणस्थलमा श्रमदानमा जुटेका दिनबहादुर थापा आफूसँग भएको सीप प्रयोग गर्न पाउँदा उत्साहित देखिएका छन् ।
हाल बेनीकोटमा एउटा मात्र बस सञ्चालनमा छ। बिहान ९ बजे बेनीकोटबाट छुट्ने र दिउँसो ४ बजे दमौलीको पदन चोकबाट फर्किने दैनिक तालिका रहेको बसका चालक पूर्णबहादुर थापाले जानकारी दिए। बाटोको अवस्था कमजोर हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको स्थानीयको गुनासो छ। कृषि उपज बजार लैजान र विद्यार्थीहरूलाई दैनिक विद्यालय आवतजावत गर्न कठिनाइ भइरहेको अभिभावक गणेश रानाले बताए। यस्तै समस्याबीच निर्माणाधीन यात्रु प्रतीक्षालयले कम्तीमा यात्रुहरूलाई सुरक्षित र सहज प्रतीक्षा स्थल उपलब्ध गराउने विश्वास स्थानीयले व्यक्त गरेका छन्।



























