प्रहार समाचार । काठमाडौँ, १४ पुस २०८२ सोमबार । वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै धारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे सहमति भएको छ। आज भएको सहमतिअनुसार दुवै शक्ति आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने भएका छन्। सहमतिले हालको परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ राजनीतिक शक्तिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समुन्नतिलाई केन्द्रीय एजेन्डा बनाउने स्पष्ट संकेत गरेको छ।

सहमति पत्रमा २०८२ साल भदौमा भएको जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई प्रेरणाको आधार मान्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यताप्रणाली (मेरिटोक्रेसी) र उदार अर्थतन्त्रमा आधारित शासन प्रणाली अघि बढाउने प्रतिबद्धता उल्लेख छ। आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारको मार्गचित्र इमानदार रूपमा कार्यान्वयन गर्ने सहमतिमा उल्लेख गरिएको छ।
एकतापछि दलको नाम, झन्डा र चुनाव चिन्ह रास्वपाकै रहने सहमति भएको छ। केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ। उज्यालो नेपालको अभियानलाई रास्वपाको कार्यक्रमसँग जोड्दै युवा अभियन्ता तथा विज्ञहरूलाई संगठनमा समायोजन गर्ने र निर्वाचन आयोगमा आवश्यक कागजात अद्यावधिक गर्ने सहमति पनि भएको छ। यसअघि रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको चुनावी सहकार्यको सहमतिपछि आएको यो समझदारीलाई वैकल्पिक राजनीतिलाई थप संगठित र बलियो बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



























