प्रहार समाचार । काठमाडौं, १३ पुस २०८२ आइतबार । लामो समयदेखि अनिश्चितता र दबाबमा रहेको सेयर बजारले सोमबार अप्रत्याशित तर बलियो उछाल देखाएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच देखिएको राजनीतिक सहकार्यको संकेतसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उत्साह फर्किएको हो।

आज सार्वजनिक रूपमा बालेन र रवि एउटै राजनीतिक धारमा उभिन सक्ने संकेतसहित हातेमालो गरेको समाचार बाहिरिएपछि बजारमा मनोवैज्ञानिक प्रभाव देखिएको विश्लेषकहरू बताउँछन्। राजनीतिक स्थायित्व र नयाँ राजनीतिक विकल्पको सम्भावनाले लगानीकर्तामा भरोसा बढ्दा बजारले महत्वपूर्ण सपोर्ट जोनबाट मजबुत बाउन्सब्याक गरेको हो।
नेप्से सूचक आज ठूलो हरियो मारुबोजु क्यान्डल बनाउँदै बन्द भयो। लामो समयदेखि कमजोर कारोबार र निरन्तर करेक्सनले थकित बनेका लगानीकर्ताहरू पुनः सक्रिय देखिए। विशेषगरी बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूहमा खरिद चासो बढेको बजार स्रोतको भनाइ छ।
बजार विश्लेषकहरूका अनुसार, बालेन–रवि सहकार्यलाई धेरैले वैकल्पिक राजनीतिक शक्तिको सम्भावित एकीकरणका रूपमा लिएका छन्। पुराना दलहरूप्रतिको असन्तुष्टि, सुशासन र भ्रष्टाचारविरोधी एजेन्डासँग जोडिएका यी दुई पात्रको सहकार्यले नीतिगत सुधार र स्थायित्वको अपेक्षा बढाएको छ, जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो।
यद्यपि विश्लेषकहरूले यसलाई दीर्घकालीन ट्रेन्डको सुरुआत मान्न अझै केही समय पर्खनुपर्ने बताएका छन्। तर, राजनीतिक घटनाक्रमले बजारको धार बदल्न सक्ने संकेत आजको कारोबारले स्पष्ट रूपमा देखाएको उनीहरूको निष्कर्ष छ।



























