हेडलाईनसमाचारप्रदेश

बालेन र रवि बिच भयो यस्तो सम्झौता : पुराना राजनैतिक दहरूमा बज्ने भयो ‘घण्टी’

प्रहार समाचार । काठमाडौं, १३ पुस २०८२ आइतबार । । राष्ट्रिय राजनीतिमा तरंग ल्याउने गरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच उच्चस्तरीय राजनीतिक सहमति भएको छ । ४८ घन्टासम्म चलेको आन्तरिक संवादपछि दुवै नेताबीच भावी सत्ता संरचना, नेतृत्व बाँडफाँड र राजनीतिक दिशाबारे लिखित सहमति जुटेको हो ।


सहमति अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन रहनेछन् भने पार्टीको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने यथावत् रहनेछन् । यसलाई वैकल्पिक राजनीतिमा नेतृत्वको स्पष्ट खाका तय भएको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।


दुवै नेताले नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने साझा मार्गचित्रमा सहमति भएको छ ।


सहमति पश्चात् स्थापित हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ । दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टी रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहने उल्लेख छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । हेरौँ सहमती पत्र :


बृहत् एकतापछि पार्टी संगठनलाई फराकिलो र सक्षम बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने सहमतिमा उल्लेख छ । आमनिर्वाचनपछि यस सम्झौताअनुसार पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ ।
साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका एजेन्डामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिलाई ‘घण्टी’ वरिपरि एकजुट हुन आव्हान गरिएको छ । विश्लेषकहरूका अनुसार बालेन–रवि सहमतिले वैकल्पिक राजनीतिक धारलाई संस्थागत रूप दिने प्रयास मात्र होइन, आगामी निर्वाचनमा शक्ति सन्तुलन बदल्न सक्ने संकेत पनि दिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button