प्रहार समाचार । काठमाडौँ, १३ पुस २०८२ आइतबार । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा तराई भूभागका अधिकांश स्थानमा आज हुस्सु–कुहिरो देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो तराईमा हुस्सु–कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु कायमै रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा छिटफुट रूपमा हल्का वर्षा र हिमपात हुन सक्ने उल्लेख गरिएको छ ।
हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विशेषगरी सवारी चालक र चिसोप्रति संवेदनशील समूहलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।



























