हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दीपुरमा तमु ल्होसारको रौनक : संस्कृति र पहिचान जोगाउने साझा प्रयास

प्रहार समाचार । तनहुँ, १२ पुस २०८२ शनिबार । तनहुँको बन्दीपुर गाउँपालिका–२ र ३ का गुरुङ समुदायले तमु ल्होसारलाई केन्द्रमा राख्दै सांस्कृतिक पहिचान र सामुदायिक एकताको सन्देश दिने तयारी गरेका छन्। मिलिजुली तमु समाजको आयोजनामा आगामी तमु ल्होसारका अवसरमा विविध सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन गरिने भएको हो। सोमबार सम्पन्न कार्यसमिति बैठकले आहालभञ्ज्याङ क्षेत्रमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

समाजका अध्यक्ष चन्द्रज्वज गुरुङको अध्यक्षतामा बसेको बैठकले सांस्कृतिक भेषभूषासहित नृत्य, एकल तथा सामूहिक प्रस्तुति र लोकदोहोरी कार्यक्रम समेट्ने तय गरेको छ। कार्यक्रममा लोकदोहोरी गायक टक गुरुङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रमले स्थानीयस्तरमै गुरुङ संस्कृति, कला र मौलिक परम्परालाई उजागर गर्ने अपेक्षा गरिएको छ।


तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। गुरुङ पात्रोअनुसार प्रत्येक वर्ष पुष १५ गते नयाँ वर्ष फेरिने प्रचलन छ। यस अवसरमा पुष १४ गते राति धार्मिक विधिअनुसार पूजाआजा गरी पुरानो वर्षको बिदाइ र मध्यरातमा नयाँ वर्षको स्वागत गरिन्छ भने १५ गते हर्षोल्लासका साथ विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गरिन्छ।


तमु सम्बत ३२२७८ औँ नयाँ वर्षमा सप्हि ल्हो (नाग वर्ग)को बिदाइ र त ल्हो (घोडा वर्ग)को स्वागत गरिँदैछ। तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रको मार्गदर्शनअनुसार जिल्लाका विभिन्न पालिकामा समेत ल्होसार मनाइँदै आएको छ। तमु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको अध्यक्ष गुरुङले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button