हेडलाईनसमाचारप्रदेश

किस्ता बन्दिमा मन्त्री मण्डल विस्तार गर्दै कार्की नेतृत्वको सरकार

प्रहार समाचार । काठमाडौँ, ११ पुस २०८२ शुक्रबार । प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारले किस्ता बन्दिमा मन्त्री मण्डल विस्तार गरेको छ । लामो समयदेखि रोकिँदै–टुक्रिँदै हुँदै आएको मन्त्रिपरिषद् विस्तारलाई निरन्तरता दिँदै सरकारले परराष्ट्र मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको हो ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीको शपथ गराएका छन् । शपथसँगै शर्मा कार्की सरकारको मन्त्रिपरिषद्मा औपचारिक रूपमा प्रवेश गरेका हुन् । उनी मन्त्रिपरिषद्को वरीयतामा १५ औँ स्थानमा रहेका छन् ।


सुरक्षा क्षेत्रको अनुभव बोकेका शर्माले यसअघि माओवादी जनसेनाका लडाकू व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया र सुरक्षा व्यवस्थापनमा संलग्न उनको पृष्ठभूमिलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको सरकारको बुझाइ छ ।


यसैक्रममा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् भित्रै जिम्मेवारी हेरफेरसमेत गरेकी छिन् । प्रधानमन्त्रीसँग रहेको खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम मन्त्रीसमेत रहेका राजेन्द्रसिंह भण्डारीलाई दिइएको छ । सरकार गठनपछि चरणबद्ध रूपमा, किस्ता–किस्तामा मन्त्री मण्डल विस्तार र कार्यविभाजन गर्दै आएको कार्की नेतृत्वको सरकारले यस कदमलाई निरन्तरताको रूपमा लिएको छ ।


यसअघि गत मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरिएको थियो । सरकारले आगामी दिनमा आवश्यकताअनुसार थप निर्णय र व्यवस्थापन गर्दै जाने संकेत गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button