प्रहार समाचार । तनहुँ, १० पुस २०८२ बिहीबार । तनहुँको व्यास–२, दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयमा पूर्व शिक्षक पूर्णबहादुर खड्काको पहलमा स्थापना गरिएको अक्षय कोषबाट शिक्षकहरू सम्मानित भएका छन्।

विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर उक्त कोषको व्याजबाट दुई जना शिक्षकलाई नगद पुरस्कार प्रदान गरिएको हो।
अक्षय कोषबाट यस वर्ष शिक्षक रेशम खुलाल र सलिना गुरुङलाई जनही पाँच हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

शिक्षण पेशामा समर्पित शिक्षकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पूर्व शिक्षक खड्काले अक्षय कोष स्थापना गरेको बताइएको छ।
स्वर्ण जयन्ती समारोहका अवसरमा नगर प्रमुख वैकुण्ठ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललगायतले पुरस्कार हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयले पुरस्कृत शिक्षकहरूलाई हार्दिक बधाई व्यक्त गर्नुका साथै अक्षय कोष स्थापना गरी विद्यालयप्रति योगदान पुर्याउने पूर्व शिक्षक पूर्णबहादुर खड्काप्रति आभार व्यक्त गरेको छ। खड्काले एक लाख ५० हजारको अक्षय कोष स्थापना गरेका हुन्।




























