प्रहार समाचार । ११ पुस २०८२ शुक्रबार । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष मनाइने यस दिवसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यलाई पुनः स्मरण गराउने उद्देश्य राखेको छ ।

जीवनको लामो यात्रामा उनीहरूले समाज र राष्ट्रका लागि गरेको योगदान अमूल्य भए पनि व्यवहारमा उनीहरूको सम्मान र संरक्षण अझै चुनौतीपूर्ण देखिन्छ।
नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सम्मानजनक जीवनको अधिकार सुनिश्चित गरेको छ। कानुनी व्यवस्था बलियो भए पनि स्वास्थ्य उपचार, पारिवारिक हेरचाह र सामाजिक सम्मानका सवालमा धेरै ज्येष्ठ नागरिक अझै अपेक्षित सहारा नपाएको गुनासो गर्छन्। दिवसका अवसरमा आयोजना हुने कार्यक्रम र भाषणहरूमा सम्मानका शब्द धेरै सुनिए पनि ती अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू बताउँछन्।
नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई प्रतिमहिना एक सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेको थियो, जुन हाल चार हजार रुपैयाँ पुगेको छ। करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिइरहेका छन्। तर बढ्दो महँगी र औषधोपचार खर्चका कारण यो रकम पर्याप्त नभएको आवाज उठिरहेको छ। त्यसैले ज्येष्ठ नागरिक दिवस औपचारिकतामा सीमित नरही उनीहरूको अनुभव, ज्ञान र योगदानलाई सम्मान गर्दै व्यवहारिक संरक्षण र सहभागितामूलक नीति कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ।



























