हेडलाईनसमाचारगण्डकीम्याग्दे

घरआँगनमै दर्ता–नविकरण सेवा : म्याग्देमा व्यवसायीलाई कानुनी दायरामा ल्याउने अभियान तीव्र

प्रहार समाचार । तनहुँ, १० पुस २०८२ बिहीबार । तनहुँको म्याग्दे गाउँपालिकाले व्यवसाय दर्ता तथा नविकरण सेवालाई घरदैलोमै पुर्‍याउँदै व्यवसायीलाई कानुनी दायरामा ल्याउने अभियानलाई तीव्र बनाएको छ । गाउँपालिकाको आयोजना तथा म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन भइरहेको व्यवसाय दर्ता तथा सूचीकृत अभियानअन्तर्गत बिहीबार वडा नम्बर ६ मा घरआँगनमै पुगेर सेवा प्रदान गरिएको हो ।

 


वडा नम्बर ६ का वडाध्यक्ष हिरालाल गुरुङले दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै व्यवसायलाई निरन्तरता दिई पालिकाको दीगो विकासमा योगदान पुर्‍याउन आग्रह गरे । पालिकाभित्र सञ्चालित उद्योग तथा व्यापार व्यवसायलाई व्यवस्थित र कानुनी दायरामा ल्याउने उद्देश्यले अभियानकै रूपमा दर्ता तथा सूचीकृत कार्य अघि बढाइएको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए । पटक–पटक सूचना गर्दा पनि दर्ता हुन नआएका व्यवसायीलाई लक्षित गरी घरदैलो सेवा सुरु गरिएको उनको भनाइ छ ।


अभियानमा होटल, किराना, कृषि, मासु पसल, स्टेशनरी, परामर्श सेवा, ब्युटीपार्लर, सप्लायर्सलगायत विभिन्न व्यवसाय दर्ता तथा सूचीकृत भएका छन् । व्यवसायीको सहजताका लागि फोटो कपीलगायतका आवश्यक सेवा निःशुल्क व्यवस्था गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले बताए । संघका अध्यक्ष सुन्दरमणि अधिकारीले स्थानीय सरकार र व्यवसायी संस्था सहयात्री भएर काम गर्दा अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अभियान सफल बनाउन संघका पदाधिकारी तथा सदस्य सक्रिय रूपमा लागिरहेको बताए ।


यसअघि वडा नम्बर ३ बाट गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा अभियानको सुरुवात गरेका थिए । आफ्नै घरटोलमै सेवा पाएपछि व्यवसायी उत्साहका साथ सहभागी भई कानुनी प्रक्रिया र दर्ता सम्बन्धी जानकारी लिएको म्याग्दे उद्योग वाणिज्य संघका महासचिव राजीव श्रेष्ठले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button