• विजय अधिकारी ( संवाददाता ) ९ पुस २०८२ बुधबार । लमजुङ । भौगोलिक विकटता र आवागमनको कठिनाइलाई मध्यनजर गर्दै लमजुङको बेसीशहर नगरपालिका वडा नं. ११ ले जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित बुढीकुवामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। वडा कार्यालय टाढा भएकै कारण सेवा लिन समस्या भोग्दै आएका स्थानीयका लागि यो केन्द्र राहतको माध्यम बनेको छ।

वडा नं. ११ नगरपालिकाकै सबैभन्दा ठूलो वडा भएकाले सबै नागरिकलाई एकै स्थानबाट सेवा दिन कठिन भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए। उनका अनुसार अब प्रत्येक हप्ताको सोमबार बुढीकुवा सेवा केन्द्रमार्फत वडाबाट प्रदान गरिने सबै सेवा उपलब्ध गराइनेछ। यसअघि रामचोकबेसीमा समेत सेवा केन्द्र स्थापना भइसकेको छ।
स्थानीय अगुवा क्याप्टेन लोकबहादुर सिलुवालको पहलमा स्थापना गरिएको सेवा केन्द्रका लागि समूह भवन र फर्निचर स्थानीयले नै जुटाएका हुन्। वडा सदस्य विजयराज सेढाईले सवारी साधनको न्यून उपलब्धता र पैदल हिँडेर वडा कार्यालय पुग्नुपर्ने बाध्यताका कारण स्थानीयको मागअनुसार सेवा केन्द्र विस्तार गरिएको बताए।
सेवा शुभारम्भ कार्यक्रममा बेसीशहर नगरपालिकाकी उपप्रमुख पद्यमा गुरुङले स्थानीय सरकारको प्रमुख जिम्मेवारी नै जनतालाई सहज, सरल र नजिकबाट सेवा दिनु भएको उल्लेख गर्दै सेवा केन्द्र विस्तारले यस भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिन्।अब वडा नं. ११ ले चिति तिलाहारस्थित वडा कार्यालयबाट हप्तामा चार दिन, रामचोकबेसी सेवा केन्द्रबाट बुधबार र बुढीकुवा सेवा केन्द्रबाट सोमबार सेवा प्रदान गर्नेछ। कार्यक्रममा वडा सदस्यहरू, आमा समूह, स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव रुद्रप्रसाद पन्थीले गरेका थिए।



























