हेडलाईनसमाचारगण्डकी

बेसीशहरको पसलभित्र लुकेको अपराध : नाबालिका शोषणको पर्दाफास

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । ९ पुस २०८२ बुधबार । सामान्य किराना पसल र होटलको आवरणभित्र लुकेको गम्भीर अपराध लमजुङको बेसीशहरमा प्रहरी अनुसन्धानपछि बाहिर आएको छ । नाबालिकालाई कामको प्रलोभन देखाएर अनैतिक गतिविधिमा जबरजस्ती संलग्न गराइएको घटनामा एक महिलालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ ।

बेसीशहर नगरपालिका–८, प्रगतिटोलमा किराना पसल सञ्चालन गर्दै आएकी ४५ वर्षीया कोपिला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए । उजुरीका आधारमा गरिएको छानबिन क्रममा पसलभित्रै तीन जना नाबालिकालाई शोषणमा पारिएको प्रमाण फेला परेपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको हो ।


प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई काम लगाइदिने बहानामा पसलमा राखी, पछाडिको भागमा छुट्टै कोठा बनाइ पुरुष ग्राहकसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिएको पुष्टि भएको छ । यसबाट सञ्चालकले आर्थिक फाइदा लिने गरेको देखिएपछि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो ।


पक्राउ परेकी श्रेष्ठलाई जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका नाबालिकालाई आवश्यक संरक्षण र मनोसामाजिक सहयोगका लागि संरक्षण गृहमा राख्ने व्यवस्था मिलाइएको छ । घटनाले सतहमा सामान्य देखिने व्यवसायभित्र लुकेका अपराधप्रति सतर्क रहनु पर्ने गम्भीर सन्देश दिएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button