प्रहार समाचार । तनहुँ, ९ पुस २०८२ बुधबार । जग्गा प्राप्तिमा निरन्तर भइरहेको ढिलाइका कारण प्रादेशिक अस्पताल दमौली (दमौली अस्पताल) को स्तरोन्नति वर्षौंदेखि अघि बढ्न नसकेको यथार्थ फेरि सतहमा आएको छ । जिल्लाकै मुख्य उपचार केन्द्र हुँदाहुँदै पनि अस्पताल १५ बेड क्षमतामै सीमित रहनु परेको छ, जबकि दैनिक करिब ५०० बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् ।

तनहुँकै पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकालमा दमौली अस्पतालको जग्गा समस्या समाधान गरेर ५० बेड क्षमतामा विस्तार गर्न जोड बल दिएका थिए । तर सत्ता परिवर्तनसँगै ती प्रयासहरू निरन्तरता पाउन सकेनन् र अस्पताल स्तरोन्नतिको मुद्दा क्रमशः सेलाउँदै गयो । त्यसयता बनेका नेतृत्व र व्यवस्थापन समितिहरूले पनि जग्गा व्यवस्थापनको ठोस समाधान निकाल्न नसकेको देखिन्छ ।
यसअघि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहँदा समेत जग्गा प्राप्ति हुन सकेन । कृषि ज्ञान केन्द्र सङ्गको जग्गा साँटफेर, लाई ठोस रूपमा अगाडी नबढाइँदिंदा तथा सरकारको बजेट र घोषणाहरू जग्गा अभावकै कारण कार्यान्वयनमा जान नसक्दा अस्पताल विस्तार कागजी निर्णयमै सीमित भएको छ ।
व्यास नगरपालिकाले भने वार्षिक रूपमा अस्पताललाई आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्दै आएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले जग्गाकै किचलोका कारण अस्पताललाई ५० शैयामा विस्तार गर्न अत्यन्त कठिनाइ भएको स्वीकार गर्दै, “जसरी पनि दमौली अस्पतालको स्तरोन्नति हुनैपर्छ,” भन्ने स्पष्ट धारणा राखेका छन्

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. परिवर्तन बराल पनि वर्तमान अवस्थाले सेवा प्रवाहमा गम्भीर चुनौती थपेको बताउँछन् । सीमित बेड र संरचनाका कारण बढ्दो बिरामीको चाप थेग्न हम्मे–हम्मे परिरहेको उनको भनाइ छ । “पूर्वाधार विस्तार बिना सेवा गुणस्तर सुधार गर्न कठिन छ,” उनले स्वीकार गरे ।
यसैबीच, गण्डकी प्रदेश मन्त्रिपरिषद्को हालैको निर्णयबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले अस्पताल व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएपछि फेरि आशा जागेको छ । नवनियुक्त अध्यक्ष वाग्लेले जग्गा प्राप्तिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन् ।
जग्गा समस्याको दीर्घकालीन समाधान नहुँदासम्म दमौली अस्पतालको स्तरोन्नति सम्भव नहुने यथार्थबीच नयाँ नेतृत्वले विगतका कमजोरी दोहोर्याउने कि ठोस परिणाम दिने भन्ने प्रश्नलाई जिल्लाबासीले चासोका साथ हेरिरहेका छन् ।



























