प्रहार समाचार । काठमाडौँ, १० पुस २०८२ बिहीबार । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा क्रिसमस डे मनाइएको छ। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ मा इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई प्रेम, शान्ति र मुक्तिको सन्देश दिएको विश्वासका साथ यो दिवस मनाइँदै आएको नेपाल ख्रिष्टियन महासंघले जनाएको छ। महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार येशुको शिक्षाका कारण क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा समेत लिइन्छ।

नेपालमा २०६३ सालपछि महासंघले क्रिसमसलाई महोत्सवका रूपमा मनाउन थालेको हो। यसै अवसरमा महासंघ मूल समारोह समितिको आयोजनामा बिहीबार दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ, जहाँ सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी तथा मानव अधिकारकर्मीहरूको सहभागिता रहने जनाइएको छ। यसअघि २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइँदै आएको क्रिसमसमा २०७५–७७ सम्म सीमित बिदा रहे पनि २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा लागू गरिएको छ।

पछिल्लो समय क्रिसमसलाई सांस्कृतिक र पर्यटकीय उत्सवका रूपमा पनि लिने प्रवृत्ति बढेको छ। काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय सहरहरू क्रिसमस ट्री, सजावट र सांगीतिक कार्यक्रमले झकिझकाउ देखिन्छन्। महासंघका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सक्रिय छन्, जसले नेपाली समाजमा क्रिसमसको उपस्थितिलाई अझ व्यापक बनाउँदै लगेको छ।
























