प्रहार समाचार । तनहुँ, ८ पुस २०८२ मंगलबार । तनहुँको म्याग्दे गाउँपालिकामा स्थानीय व्यवसायीलाई लक्षित गर्दै व्यवसाय दर्ता तथा नविकरणसम्बन्धी घुम्ती शिविर आजदेखि सुरु गरिएको छ । म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा म्याग्दे–३ धँयरेबाट सुरु भएको शिविरले गाउँमै सेवा पाएपछि व्यवसायीहरूमा उत्साह थपिएको छ ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँमै सेवा प्रवाह गरेर समय, खर्च र झन्झट घटाउनु नै घुम्ती शिविरको मुख्य उद्देश्य रहेको बताए । उनले स्थानीय व्यवसायलाई औपचारिक दायरामा ल्याई रोजगारी र राजस्व वृद्धिमा सहयोग पुर्याउने गरी पालिका सक्रिय रहेको पनि स्पष्ट पारे ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसाय दर्ता र नविकरणलाई सरल र सहज बनाउनु आर्थिक अनुशासन र उद्यमशीलता प्रवर्द्धनको आधार भएको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले व्यवसायीलाई कानुनी प्रक्रियाबारे सचेत बनाउँदै सेवाग्राहीमैत्री प्रशासनको अभ्यासलाई निरन्तरता दिनेमा जोड दिए ।
शिविरको पहिलो दिन आज ४० भन्दा बढी व्यवसाय दर्ता तथा नविकरण भएको गाउँपालिकाका अधिकृत प्रदिप न्यौपानेले जानकारी दिए । कार्यक्रममा कार्यपालिका सदस्य, म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी, वडा सदस्य तथा स्थानीय व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम म्याग्दे–३ का वडाध्यक्ष टुकराज अधिकारीकोको अध्यक्षतामा सम्पन्त भएको थियो ।




















