• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ८ पुस २०८२ मंगलबार । कर्तव्य गरी ज्यान मारेको जघन्य कसुरमा कैद सजाय भोगिरहेका एक फरार प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको छ। लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ परेसँगै सुरक्षाका दृष्टिले संवेदनशील मानिएको यो मुद्दा पुनः कानुनी प्रक्रियामा आएको छ।

पक्राउ पर्नेमा दुधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङ रहेका छन्। जिल्ला अदालतको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका गुरुङ २०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका थिए। फरारपछि उनी विभिन्न स्थानमा लुकेर बसेको सूचनाका आधारमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रहरी चौकी गौंडाबाट खटिएको टोलीले आज पौष ८ गते गुरुङलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो। पक्राउपछि उनलाई कास्की कारागारमा बुझाइएको छ। यसैबीच, लमजुङ जिल्ला कारागारको भवन जीर्ण अवस्थामा पुगेपछि त्यहाँ रहेका कैदी तथा थुनुवालाई तनहुँको दमौली र कास्की कारागारमा सारिएको प्रहरीको भनाइ छ।



























