प्रहार समाचार । काठमाडौं, ८ पुस २०८२ मंगलबार । । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा देशको राजनीति लामो समयपछि असाधारण मोडमा पुगेको छ । राष्ट्रपति भवन शीतल निवासमा पहिलोपटक प्रधानमन्त्री शुशिला कार्की सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एकै स्थानमा बसेर छलफल गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि बैठकलाई वर्तमान राजनीतिक अस्थिरता, सत्ता–विपक्षबीचको बढ्दो टकराव र संवैधानिक निकायप्रतिको विश्वास संकटसँग जोडेर हेरिएको छ । राष्ट्रपति पौडेलले मुलुकलाई सहमति र संवादको बाटोमा फर्काउन शीर्ष नेताहरूलाई एकै टेबलमा ल्याउनु आफैंमा महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा लिइएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रपतिको यो पहल केवल शिष्टाचार भेटघाटमा सीमित नरही सम्भावित राजनीतिक समन्वय, सत्ता सन्तुलन र भविष्यको सहकार्यको आधार बन्न सक्ने संकेत हो । लामो समयदेखि आरोप–प्रत्यारोप र ध्रुवीकरणमा अल्झिएको नेपाली राजनीति अब संवादको बाटो समाउने कि फेरि शक्ति संघर्षमै सीमित रहने भन्ने प्रश्न यो बैठकपछि थप चासोको विषय बनेको छ ।
बैठकको निष्कर्षबारे औपचारिक धारणा बाहिर नआए पनि राष्ट्रपति पौडेलको सक्रियता र शीर्ष नेताहरूको एकसाथ उपस्थिति नेपाली राजनीतिमा ‘संवादको ढोका’ खुलेको संकेतका रूपमा हेरिएको छ ।



























