प्रहार समाचार । दक्षिण अफ्रिका , ७ पुस २०८२ सोमबार । दक्षिण अफ्रिकाको आर्थिक असमानता र बढ्दो अपराधको तस्बिर झल्काउने गरी जोहन्सबर्ग नजिकैको बेकर्सडाल टाउनसिपमा अन्धाधुन्ध गोलीकाण्ड भएको छ। हिंजो आइतबार मध्यराति करिब १ बजे रक्सी पसलभित्र मदिरा सेवन गरिरहेका व्यक्तिहरूमाथि एक समूह बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बन्दुकधारीहरू गाडीमा आएर पसलभित्र छिरेका थिए। गोली चलेपछि ज्यान जोगाउन भागेका केही मानिसहरूलाई लखेटी लखेटी आक्रमण गरिएको बताइएको छ। घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ भने घटनापछि बन्दुकधारीहरू फरार छन्। प्रहरीका अनुसार घटनाको कारण र संलग्न समूह पहिचान गर्न अनुसन्धान भइरहेको छ ।
रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्याण्ड वेस्ट सिटी क्षेत्र बेरोजगारी र गरिबीले गम्भीर रूपमा प्रभावित छ। सुन खानी उद्योग पतन भएपछि आर्थिक संकट चुलिएको उक्त क्षेत्र लामो समयदेखि सामाजिक अस्थिरतामा फस्दै आएको छ। अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने दक्षिण अफ्रिकामा दैनिक झण्डै ६० जनासम्म हत्या हुने तथ्यांकले पनि देशमा बढ्दो अपराध र राज्यको सुरक्षा चुनौतीलाई उजागर गरेको छ।



























