हेडलाईनप्रदेश

सम्पादकीय : प्रतिशोधको राजनीतिले काङ्ग्रेसलाई कहाँ पुर्‍याउँदैछ ?

तनहुँको भानु–११ स्थित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त त्रिभुवन क्याम्पसको सञ्चालक समिति निर्वाचन केवल शैक्षिक संस्थाको नेतृत्व चयनमा सीमित रहेन, यसले नेपाली काङ्ग्रेसभित्र गहिरिँदै गएको आन्तरिक द्वन्द्व, गुटबन्दी र प्रतिशोधको राजनीति नाङ्गो रूपमा उजागर गरिदिएको छ। निर्वाचन परिणामले अध्यक्ष पदमा काङ्ग्रेस निकट उम्मेदवार पराजित हुनु सामान्य घटना होइन, यो पार्टीभित्रको अनुशासनहीनता र आन्तरिक अन्तरघातको प्रत्यक्ष प्रमाण हो।

अध्यक्षका उम्मेदवार तारानरेश पौडेललाई आफ्नै पार्टीका नेताहरूले असहयोग गर्नु, अघोषित रूपमा अर्का प्रत्याशीलाई जिताउन सहकार्य गर्नु र विगतका व्यक्तिगत राजनीतिक रिसइवीका आधारमा निर्णय हुनु अत्यन्तै गम्भीर विषय हो। शैक्षिक संस्था सुधार, शैक्षिक गुणस्तर र संस्थागत स्थायित्वको कुरा हुनुपर्ने ठाउँमा पुरानो बदला, स्थानीय तह निर्वाचनको हार–जित र गुटगत अहंकार हाबी हुनु काङ्ग्रेसको राजनीतिक संस्कारमाथि नै प्रश्नचिन्ह हो।

२०७९ को स्थानीय तह निर्वाचनमा देखिएको असन्तुष्टि र हार–जीतको हिसाबकिताब आज क्याम्पसको निर्वाचनमा ‘बदला’का रूपमा प्रकट हुनु काङ्ग्रेसका लागि शुभ संकेत होइन। एक–अर्कालाई हराउने खेलमा रमाइरहँदा पार्टी संगठन कमजोर बन्दै गएको छ भन्ने यथार्थ नेतृत्वले समयमै बुझ्न नसके परिणाम अझ गम्भीर हुने निश्चित छ। संगठनभित्रको असहमति लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्ने सट्टा गुप्त सहकार्य र अन्तरघातलाई रणनीति बनाइनु पार्टीलाई भित्रैबाट खोक्रो बनाउने बाटो हो।

अब प्रश्न उठ्छ—जिल्ला तहका नेताहरूको भूमिका के हो ? तल्लो तहका कार्यकर्तालाई मिलाएर, मतभेदलाई व्यवस्थापन गरेर पार्टीलाई एकताबद्ध बनाउनु पर्ने नेताहरू स्वयं द्वन्द्वको सूत्रधार बन्नु कस्तो नेतृत्व संस्कार हो ? काङ्ग्रेसले यदि यस्तै प्रतिशोधको राजनीतिलाई निरन्तरता दियो भने पार्टीको वैचारिक धरातल, संगठनात्मक शक्ति र जनविश्वास क्रमशः क्षीण हुँदै जानेछ।

शैक्षिक संस्थामा समेत गुटको हिसाबकिताब मिलाउने यो प्रवृत्ति तुरुन्तै रोकिएन भने काङ्ग्रेस केवल चुनाव हार्ने पार्टी मात्र होइन, आफ्नै मूल्य र सिद्धान्त गुमाउने पार्टीका रूपमा चिनिने खतरा बढ्दै जानेछ। समय अझै बाँकी छ—नेतृत्वले आत्मसमीक्षा गरोस्, गुटभन्दा संगठन र बदला भन्दा भविष्यलाई प्राथमिकतामा राखोस्। नत्र इतिहासले काङ्ग्रेसको यो आत्मघाती यात्राको कठोर मूल्याङ्कन अवश्य गर्नेछ। ४ पुस २०८२ शुक्रबार ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button